images
images
  • ओमान सागरमा मालवाहक जहाजमा आगलागी, २२ जनाको उद्धार

    काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) को नेशनल गार्डले ओमान सागरमा आगलागी भएको एक मालवाहक जहाजबाट २२ जनाको उद्धार गरेको छ ।

    समाचार एजेन्सी रोयटर्सका अनुसार यूएई नेशनल गार्डले आइतबार जहाजमा आगलागी भएपछि उद्धार अभियान सञ्चालन गरी २२ जनालाई सकुशल बाहिर निकालेको जनाएको छ । उद्धार गरिएका सबै व्यक्ति अरब देशका नागरिक रहेको नेशनल गार्डले जानकारी दिएको छ ।

    जहाजमा आगलागी हुनुको कारण, जहाजको पहिचान तथा यस घटनाको ओमान सागरमा पछिल्लो समय विकसित सैन्य गतिविधिसँग कुनै सम्बन्ध भए–नभएकोबारे भने स्पष्ट भएको छैन ।

    यसअघि अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले ओमान सागरमा एक मालवाहक जहाजलाई नियन्त्रणमा लिएको जनाएको थियो । अमेरिकाले इरानका बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी छल्ने प्रयास गरेपछि उक्त जहाजलाई अघि बढ्न नदिइएको सेन्टकमले जनाएको थियो ।

    सेन्टकमका अनुसार चालक दललाई पटक–पटक चेतावनी दिँदा पनि जहाजले अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेको थियो ।

    अमेरिकी सेनाले सेन्ट किट्स एन्ड नेभिसको झण्डा बोकेको ‘हुडा’ नामक मालवाहक जहाजको पछिल्लो भागमा सैन्य विमानबाट सटीक प्रहार गरेको जनाएको छ । उक्त प्रहारपछि जहाज सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको सेन्टकमको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images