काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना-४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन् । सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो ।
नौबिसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफैँ माथिबाट पहिरो खसेको हो ।
सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए ।
-फाइल तस्विर






















