images
images
  • अमेरिकी रक्षा मन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव दर्ता

    काठमाडौं । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथ विरुद्ध प्रतिनिधि सभामा महाभियोगको प्रस्ताव पुनः दर्ता गरिएको छ । रिपब्लिकन पार्टीका प्रतिनिधि सभा सदस्य थोमस म्यासीले रक्षा मन्त्री हेगसेथले पदीय अधिकारको दुरुपयोग गर्दै कङ्ग्रेसको अनुमतिविना इरानलगायत अन्य देशहरूमा गैरकानुनी सैन्य कारबाही चलाएको आरोप लगाउँदै महाभियोग प्रस्ताव पेस गरेका हुन् ।

    प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद म्यासीले औपचारिक युद्धको घोषणा, वैधानिकता वा राष्ट्रिय संकटको परिस्थिति नरहे पनि रक्षा मन्त्री हेगसेथले गैरकानुनी आदेश जारी गरी विदेशी मुलुकविरुद्ध युद्ध सुरु गराएको दाबी गरे । हेगसेथको कदम संविधान र कानुनको मर्मविपरीत रहेकाले उनलाई पदबाट बर्खास्त गरी भविष्यमा कुनै पनि सार्वजनिक पदका लागि अयोग्य ठहर गर्न महाभियोग चलाउनुपर्ने म्यासीको भनाइ छ ।

    भर्खरै सम्पन्न मध्यवधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको ऐतिहासिक पराजयपछि अमेरिकामा इरान युद्धलाई लिएर राजनीतिक ततावट बढेको छ । फेब्रुअरी महिनामा अमेरिका र इजरायलले इरानविरुद्ध सुरु गरेको युद्ध र यसका कारण बढेको इन्धनको मूल्य वृद्धिले जनतामा असन्तोष पैदा गरेको थियो, जसका कारण कङ्ग्रेसमा रिपब्लिकनहरूले आफ्नो बहुमत गुमाउनुपरेको विश्लेषकहरूको ठम्याइ छ । उपराष्ट्रपति जेडी भान्सले पनि सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै चुनावी हारको मुख्य कारण युद्ध नै भएको स्वीकारेका छन् ।

    इरान रणनीति र सैन्य व्यवस्थापनलाई लिएर रिपब्लिकन पार्टीका अन्य नेताहरूले पनि हेगसेथको आलोचना गरेका छन् । सिनेटर थोम टिलिसले हेगसेथको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै उनलाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गरेका छन् । त्यसैगरी प्रतिनिधि सभाको ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कमरले पनि इरान नीतिको स्पष्ट खाका नरहेको भन्दै असन्तोष जनाएका छन् ।

    अर्कोतर्फ, राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हेगसेथको बचाउ गर्दै आफू उनको पक्षमा उभिने बताएका छन् । ट्रम्पले हेगसेथले पेन्टागनमा राम्रो काम गरिरहेको दाबी गर्दै महाभियोग प्रस्ताव ल्याउने सांसद म्यासीको कदम व्यक्तिगत द्वेषबाट प्रेरित भएको टिप्पणी गरे ।

    महाभियोग प्रस्तावबारे प्रतिक्रिया दिँदै रक्षा मन्त्री हेगसेथले यसलाई ‘राजनीतिक नाटक’ को संज्ञा दिएका छन् । आफू महाभियोगको प्रयासबाट विचलित नभएको र मङ्गलवार पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा यस विषयमा थप कुरा राख्ने उनले बताएका छन् ।

    प्रतिनिधि सभामा अझै पनि रिपब्लिकन पार्टीको बहुमत रहे पनि महाभियोग प्रस्ताव पारित गराउन तीन जना रिपब्लिकन सांसदले मात्र डेमोक्र्याटको पक्षमा मतदान गरे पुग्छ । सांसद म्यासीले प्रस्ताव पारित गराउन आवश्यक रिपब्लिकन सांसदहरूको समर्थन जुट्नेमा आफू विश्वस्त रहेको दाबी गरेका छन्, र यसबारे यसै साता मतदान हुन सक्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images