images
images
  • एनभिडिया प्रकरणले सिलिकन भ्यालीमा ल्यायो तरंग

    एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास र प्रतिस्पर्धाका बिच अमेरिकी प्रविधि क्षेत्र (सिलिकन भ्याली) मा परम्परागत मानव जासुसीको खतरा पुन: बढेको छ । विश्वकै अग्रणी प्रविधि कम्पनी एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङ मुछिएको पछिल्लो विवादले कर्पोरेट सुरक्षा र प्रविधि जासुसीमा नयाँ तरङ्ग पैदा गरेको छ ।

    अमेरिकी गुप्तचर निकायहरूले बेइजिङका लागि जासुसी गरेको आशङ्का गरेकी सिंगापुरस्थित ‘मेगास्पिड’ कम्पनीकी पूर्व कार्यकारी एलिस हुआङसँग एनभिडियाका सीईओ जेन्सेन हुआङको व्यक्तिगत सम्बन्ध रहेको विवरण सार्वजनिक भएपछि एनभिडियाले स्वतन्त्र छानबिन सुरु गरेको छ । जेन्सेन हुआङले एलिस हुआङसँग आफ्नो अवाञ्छित व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरिसकेका छन् ।

    अमेरिकी गुप्तचर निकायका अनुसार एलिस हुआङले एनभिडियाको व्यापारिक रणनीति र अमेरिकाले चीनमाथि लगाएको उच्च प्रविधियुक्त सेमिकन्डक्टर चिप निर्यात प्रतिबन्ध खुकुलो पार्ने प्रयासबारे जानकारी संकलन गर्न जेन्सेन हुआङसँग निकटता बढाएकी थिइन् ।

    सिंगापुर सरकारले भने एलिस हुआङमाथि आफ्नो देशले जासुसीको अनुसन्धान नगरेको तर मेगास्पिड कम्पनीमाथिको छानबिन जारी रहेको स्पष्ट पारेको छ । यसैबिच, विदेशी गुप्तचर निकायको छानबिन सार्वजनिक भएसँगै एनभिडियाको सेयर मूल्यमा ८ प्रतिशतको गिरावट आएको छ । मेगास्पिडले दुई वर्षको अवधिमा एनभिडियाबाट ४.८ अर्ब अमेरिकी डलर बराबरको चिप खरिद गरेको थियो ।

    एनभिडिया प्रकरणअघि अन्य प्रमुख एआई कम्पनीहरूमा पनि जासुसीका घटना बाहिरिएका थिए। गत महिना ओपनएआईका पूर्व इन्जिनियर तथा साउदी नागरिक अब्दुलरहमान अल्फोजानलाई कम्पनीको गोप्य बैठक कक्षमा सुन्ने उपकरण राखेको अभियोगमा पक्राउ गरिएको थियो ।

    अमेरिकी सङ्घीय अनुसन्धान ब्युरोका अनुसार सान फ्रान्सिस्कोस्थित मुख्यालयको कन्फरेन्स रुमको टेलिभिजनपछाडि युएसबी पोर्टमा शौचालयको कागजले बेरिएको अवस्थामा रेकर्डिङ उपकरण भेटिएको थियो । अल्फोजानले रेकर्डिङ उपकरण खोज्न र बैठकको समय तालिका पत्ता लगाउन एआई च्याटबोटकै प्रयोग गरेको अभियोगपत्रमा उल्लेख छ ।

    त्यस्तै, गुगलका पूर्व इन्जिनियर लिनवेई डिङमाथि गुगलको गोप्य एआई प्रविधि र टेन्सर प्रोसेसिङ युनिटसँग सम्बन्धित हजारौँ पृष्ठका दस्तावेज चोरी गरी चीनमा व्यापारिक स्वार्थका लागि प्रयोग गरेको प्रमाणित भएको थियो ।

    साइबर आक्रमण र डिजिटल जासुसीका लागि एआई स्वायत्त एजेन्टहरूको प्रयोग बढे पनि गोप्य व्यक्तिगत कुराकानी वा रणनीतिक निर्णयहरू थाहा पाउन अझै पनि मानव जासुसी नै प्रभावकारी साबित भइरहेको छ । उच्च प्रविधियुक्त सेमिकन्डक्टर, कम्प्युटिङ पूर्वाधार र एआई मोडेलहरू अहिले राष्ट्रिय सुरक्षाका मुख्य विषय बनेका छन् ।

    यो विवाद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिनपिङबिच हुने भनिएको आगामी एपेक शिखर सम्मेलनको पूर्वसन्ध्यामा बाहिर आएकाले दुई देशबिचको प्रविधि र व्यापारिक सम्बन्ध थप पेचिलो बन्ने अनुमान गरिएको छ । एनभिडियाको सञ्चालक समितिले भने कम्पनीको गोप्य सूचना वा अमेरिकी राष्ट्रिय सुरक्षामा सम्झौता भएको कुनै प्रमाण नभेटिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images