images
images
  • आफ्नै दलका सांसदले महाभियोग प्रस्ताव दर्ता गरेपछि अमेरिकी रक्षामन्त्री हेगसेथले रिपब्लिकनप्रति पोखे आक्रोश

    काठमाडौं- अमेरिकी रक्षामन्त्री पीट हेगसेथले आफूविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने प्रयासको आलोचना गर्दै त्यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् ।

    मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले महाभियोगको प्रयासलाई ‘जवाफदेहिता खोज्ने प्रयास नभई आक्रोश र अहंकारबाट प्रेरित राजनीतिक गतिविधि’ भएको बताए ।

    हेगसेथले रिपब्लिकन सांसद थोमस मासीप्रति लक्षित गर्दै चुनावमा पराजित र असन्तुष्ट सांसदले यस्तो प्रयास गरेको टिप्पणी गरे । मासीले सोमबार हेगसेथविरुद्ध महाभियोग प्रक्रिया अघि बढाएका थिए ।

    हेगसेथले अहिलेसम्म कुनै पनि अमेरिकी रक्षामन्त्रीलाई कानुनी सैन्य अभियान सञ्चालन गरेको विषयमा महाभियोग नलगाइएको दाबी गरे ।

    यस्तो प्रयासले अमेरिकाका विरोधीहरूलाई प्रचार गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी जनताले दिएको जिम्मेवारीअनुसार सरकारले देशको रक्षा गर्ने र शत्रुहरूलाई पराजित गर्ने काम जारी राख्ने बताए ।

    हेगसेथले आफूले यसअघि पनि यस्तै राजनीतिक घटनाक्रम देखिसकेको बताउँदै सन् २०१९ मा भएको एक टेलिफोन संवाद र सन् २०२१ मा राष्ट्रपति ट्रम्पविरुद्ध अघि बढाइएको महाभियोग प्रक्रियालाई स्मरण गरे ।

    उनले ती दुवै प्रयास असफल भएको उल्लेख गर्दै ट्रम्प झन् बलियो भएर फर्किएको दाबी गरे । यसपटक पनि महाभियोगको प्रयास सफल नहुने उनको भनाइ थियो ।

    उनले भने, ‘यो प्रस्तावले हाम्रा शत्रुहरू- इरान, लागुऔषध तस्करी गर्ने समूह र हामीलाई हेरिरहेका अन्य विरोधीहरूलाई गलत सन्देश दिन्छ । अमेरिकाले कानुनी सैन्य अभियान सफलतापूर्वक सञ्चालन गरेकै कारण आफ्ना सैनिक र नागरिक नेतृत्वलाई सजाय दिनेछ भन्ने सन्देश यसले दिन्छ ।’

    हेगसेथले यस्तो प्रयासलाई देशभक्तिपूर्ण कदम नभई षड्यन्त्रको संज्ञा दिँदै भने, ‘यो देशभक्ति होइन, षड्यन्त्र हो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images