images
images
  • आयरल्यान्ड पुगे जेलेन्स्की, डब्लिनमा रुस-युक्रेन युद्धविराम गर्ने बाटोको खोजी

    काठमाडौं– रुससँगको पछिल्लो शान्तिवार्ताबारे जानकारी लिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र जारेड कुशनरसँग युरोपेली राजनीतिक समुदाय (ईपीसी) शिखर सम्मेलनका क्रममा भेट गर्ने भएका छन् ।

    राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार डब्लिनमा अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र जारेड कुशनरसँग भेटवार्ता गर्ने योजना बनाएका हुन् । ४५ भन्दा बढी देशका नेताहरू सहभागी हुने शिखर सम्मेलनको दौरान सो भेट हुन लागेको हो ।

    दुवै अमेरिकी विशेष दूत रुसको राजधानी मस्कोबाट दिउँसो आयरल्यान्ड पुगेका छन् । उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसपछि युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अबुधाबीमा दुई दिनसम्म भएका वार्ताबारे जेलेन्स्कीलाई जानकारी गराउनेछन् ।

    जेलेन्स्की ईपीसीको नवौं शिखर सम्मेलनमा सहभागी हुन डब्लिन पुगेका छन् । युरोपेली सङ्घको परिषद्को घुम्ती अध्यक्षता गरिरहेको आयरल्यान्डले यस सम्मेलनको आयोजना गरेको हो ।

    बुधबार साँझ युक्रेनी राष्ट्रपतिको स्वागत गर्दै आयरल्यान्डका प्रधानमन्त्री मिचेल मार्टिनले युक्रेनी जनताको साहसको प्रशंसा गरे । उनले युक्रेनमाथि रुसले निरन्तर गरिरहेको आक्रमणको निन्दासमेत गरे ।

    बुधबार राति सरकारी भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मार्टिनले भने, ‘यो बर्बर र घृणित कार्य हो । म फेरि एक पटक युक्रेनका जनताप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछु । तपाईंहरूको अटल सङ्कल्प, सहनशीलता र बहादुरीप्रति मेरो सधैँ उच्च सम्मान रहनेछ ।’

    जेलेन्स्कीले अबुधाबीमा भएको वार्तामा युरोपेली प्रतिनिधिहरूको सहभागिताप्रति आभार व्यक्त गरे । युरोपेली महादेशको भावी सुरक्षा संरचनासम्बन्धी कुनै पनि वार्तामा युरोपको केन्द्रीय भूमिका हुनुपर्नेमा उनले जोड दिए ।

    उनले भविष्यमा हुने वार्ताका लागि युरोपको तर्फबाट एउटै प्रतिनिधि चयन गर्न युरोपेली नेताहरूलाई आग्रह गरे ।

    यसअघि बुधबार अबुधाबीमा आयोजित पत्रकार सम्मेलनमा कुशनरले वार्तामा युरोपको प्रत्यक्ष सहभागिताका लागि रुसी राष्ट्रपति पुटिनको ‘सहमति’ लिने प्रयास गर्ने बताएका थिए ।

    आयरल्यान्डका प्रधानमन्त्रीसँगै आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भने, ‘यो युद्ध युक्रेनमा भइरहेको छ । युरोपको सहभागिताविना यो युद्ध अन्त्य गर्नु अन्यायपूर्ण हुनेछ र त्यो सम्भव पनि छैन ।’

    जेलेन्स्कीले सम्मेलनका क्रममा विभिन्न देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने, पूर्ण बैठकमा सहभागी हुने तथा ‘फ्रेन्ड्स अफ युक्रेन’ कार्यक्रममा पनि उपस्थित हुने कार्यक्रम छ । सो कार्यक्रमको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री मार्टिन र बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले गर्नेछन् ।

    शिखर सम्मेलनअघि विभिन्न सुरक्षा चुनौती देखिएपछि डब्लिनमा थप अवरोध र सुरक्षा सतर्कता बढाइएको छ । बुधबार बिहान आयरल्यान्ड, बेलायत र इटालीका सयौं विद्यालयमा बम विस्फोट गराउने धम्कीसहितका नक्कली सन्देश पठाइएको थियो । यसअघि विभिन्न विमान सेवा कम्पनी तथा सञ्चारमाध्यमलाई पनि यस्तै धम्की दिइएको थियो ।

    आयरल्यान्डको प्रहरी सङ्गठन गार्डा सियोचानाले कुनै पनि गम्भीर घटनाको सामना गर्न आफूहरू तयार रहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images