काठमाडौं– बोलिभियाली अधिकारीहरूले लागुऔषध तस्करीमा संलग्न रहेको आशंकामा एक पूर्ववरिष्ठ न्यायाधीशलाई पक्राउ गरेका छन् । ल्याटिन अमेरिकी क्षेत्रमा लागुऔषध तस्करी गर्ने गिरोहसँग सम्बन्ध रहेको आशंका गरिएका सरकारी अधिकारीविरुद्ध अमेरिकाको सहयोगमा भइरहेको कारबाहीअन्तर्गत उनलाई पक्राउ गरिएको हो ।
सरकारी अभियोजक मार्सेलो इन्चाउस्टीले बुधबार पत्रकारहरूलाई दिएको जानकारीअनुसार पूर्वन्यायाधीश आल्डो क्वेजादालाई पूर्वी बोलिभियाको सान्ता क्रुजस्थित उनकै निवासबाट पक्राउ गरिएको हो । उनीमाथि लागुऔषध तस्करी र आपराधिक समूहसँग मिलेर काम गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।
क्वेजादाले गत महिना सान्ता क्रुज विभागीय अदालतको प्रमुख न्यायाधीश पदबाट राजीनामा दिएका थिए । लागुऔषध तस्करीसँग सम्बन्ध रहेको आरोपमा अमेरिकाले उनलाई भिसा प्रतिबन्धको सूचीमा राखेपछि उनले पद छाडेका थिए ।
अमेरिकाले यही नीतिअन्तर्गत कोलम्बिया, इक्वेडर र पेरुका केही अधिकारीहरूको भिसासमेत रद्द गरिसकेको छ ।
सेप्टेम्बरयता लागुऔषध तस्करी गर्ने गिरोहसँग सम्बन्ध रहेको आशंकामा बोलिभियाका कैयौं उच्च न्यायिक अधिकारी पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा पूर्वमहान्यायाधिवक्ता रोजर मारियाका पनि छन् ।
मारियाकालाई सेप्टेम्बर ३० मा सम्पत्ति शुद्धीकरण र लागुऔषध तस्करीको आशंकामा पक्राउ गरिएको थियो । प्रहरीले उनको घरबाट बाहिर लैजान लुकाएर राखिएका नगदका बन्डलसमेत बरामद गरेको थियो ।
यसअघि सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले १२ जना बोलिभियाली नागरिक र उनीहरूका परिवारका सदस्यलाई भिसा प्रतिबन्ध लगाएको थियो । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसबारे जानकारी दिइएको थियो ।
बोलिभियाका कन्जरभेटिभ राष्ट्रपति रोड्रिगो पाजले सन् २०२५ नोभेम्बर ८ मा पदभार ग्रहण गरेका थिए । उनको आगमनसँगै बोलिभियामा झन्डै २० वर्षदेखि सत्तामा रहेको मुभमेन्ट फर सोसलिजम (एमएएस) को शासन अन्त्य भएको थियो । त्यसयता पाजले अमेरिकासँगको सम्बन्ध थप सुमधुर बनाउने प्रयास गर्दै आएका छन् ।
उनले अमेरिकी राष्ट्रपति ट्रम्पले अघि सारेको ‘शिल्ड अफ द अमेरिकाज’ नामक सुरक्षा गठबन्धनमा समेत बोलिभियालाई सहभागी गराएका छन् । यो गठबन्धन अमेरिकाको समर्थनमा अमेरिकी महादेशका देशहरूबीच सुरक्षा सहकार्य विस्तार गर्ने उद्देश्यले अघि सारिएको नयाँ पहल हो ।





















