बाठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । छठ पर्व मनाउन घर फर्किरहेका सर्वसाधारण सवार माइक्रोबस दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई स्तब्ध र मर्माहत बनाएको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
लामिछानेले एउटै बस्ती र टोलमा परेको यो अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव रहेको उल्लेख गर्दै दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।





















