images
images
  • इरानको चेतावनी- होर्मुजको पुरानो व्यवस्था मान्दैनौं, पुनः आक्रमण गरे ट्रम्पले अर्को पराजय व्यहोर्नुपर्नेछ

    काठमाडौं– इरानले अमेरिका र इजरायलसँगको युद्धपछि होर्मुज जलघाँटीको व्यवस्थापन युद्धअघिको अवस्थामा नफर्कने बताएको छ । इरानी संसद्का अध्यक्ष तथा प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले उक्त जलमार्गको निगरानी र व्यवस्थापनबारे इरान र ओमानबीच समझदारी भएको जानकारी दिएका छन् ।

    अल जजिरासँगको अन्तर्वार्तामा उनले युद्ध अन्त्यका लागि अमेरिकासमक्ष सातबुँदे प्रस्ताव पठाइएको र कतारमार्फत जवाफको प्रतीक्षा भइरहेको बताए । प्रस्तावमा अमेरिकी नौसैनिक नाकाबन्दी तथा प्रतिबन्ध हटाउने, रोक्का रकम फुकुवा गर्ने, सबै मोर्चामा शत्रुता अन्त्य गर्ने र युद्ध समाप्त भएको औपचारिक घोषणा गर्नुपर्ने सर्त छन् ।

    गालिबाफले होर्मुज जलघाँटीको व्यवस्थापन तटीय मुलुकहरूको अधिकार क्षेत्रभित्र पर्ने दाबी गर्दै त्यसको नियम इरान र ओमानले निर्धारण गर्नुपर्ने बताए । अमेरिकाले सहमति पालना गरे इरान सम्झौताका लागि तयार रहेको उनको भनाइ छ । तर दुई देशबीच विश्वासको अभाव वार्ताको प्रमुख बाधक रहेको उनले उल्लेख गरे ।

    उनले रुसको सम्भावित मध्यस्थताबारे पनि चर्चा गर्दै अमेरिकी अधिकारीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई इरानसँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेको दाबी गरे ।

    अमेरिकाले पुनः आक्रमण गरे राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को पराजय व्यहोर्नुपर्ने चेतावनीसमेत उनले दिए ।

    गालिबाफले युद्धपछिको कुनै पनि सम्झौतामा होर्मुज जलघाँटीको नयाँ व्यवस्थापन प्रमुख विषय हुने सङ्केत गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images