काठमाडौं – मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा चालकसहित १० जनाको मृत्यु भएको छ भने अन्य यात्रु घाइते भएका छन् । बिहीबार बिहान सर्लाहीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको इभी माइक्रोबस भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा सडकबाट करिब ६०० देखि ७०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
सशस्त्र प्रहरी बलका अनुसार दुर्घटनामा गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकमध्ये दुई जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने अन्य आठ जनाको पहिचान खुल्न बाँकी छ । मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कविलासी नगरपालिका–८ का करिब ३० वर्षीय रविशङ्करकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका सुवेक यादव रहेका छन् ।
दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको छ । घाइतेमध्ये चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुजन यादवको अवस्था सामान्य रहेको छ ।त्यस्तै, सोही स्थानका करिब २६ वर्षीय देवेन्द्र यादव गम्भीर घाइते भएका छन् भने देवेन्द्र रायको अवस्था मध्यम रहेको छ । एक बालकलाई थप उपचारका लागि हेटौँडा अस्पताल ल्याउने तयारी गरिएको जनाइएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं। १४ गण मकवानपुरअन्तर्गत भीमफेदीस्थित कारागार सुरक्षा बेस र कुलेखानीस्थित सुरक्षा बेसबाट सुरक्षाकर्मी उद्धारमा खटिएका थिए । सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंह र सशस्त्र प्रहरी सहायक निरीक्षक मनिष जैसवालको कमान्डमा १९ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली र नेपाली सेनाको संयुक्त टोलीले पनि उद्धार गरेको थियो ।
उद्धार तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल, नेपाल नं। १४ गण मकवानपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक निबनकुमार खड्काको कमान्डमा थप ११ जनाको टोली बिहान १०ः४५ बजे घटनास्थलतर्फ पठाइएको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।




















