काठमाडौं – छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा तयारी तीव्र पारिएको छ । पछिल्ला वर्षमा उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा छठ पूजाका लागि आवश्यक तयारी भइरहेको छ । घाट निर्माण, पाल टाँग्ने, बत्ती जडान गर्ने तथा नदी किनार सरसफाइ गर्ने कामलाई तीव्रता दिइएको छ ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । पूजामा सहभागी हुने व्रतालुलाई सहज हुने गरी आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए । उनका अनुसार काठमाडौँमा छठ पर्व मनाउने परम्परा पछिल्ला वर्षमा विस्तार हुँदै गएको छ । घाट व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र सरसफाइ तथा पाल टाँग्ने काम भइरहेको उनले जानकारी दिए ।
छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने धार्मिक परम्परा छ । चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर सूर्यको उपासना गर्छन् । मनोकामना पूरा हुने विश्वासका साथ पनि श्रद्धालुले छठ व्रत बस्ने गरेका छन् । काठमाडौँमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्रमा छठ पूजा गर्ने गरिन्छ । त्यस्तै विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि पूजाका लागि घाट तयार पारिँदै छ ।
काठमाडौँ महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत स्थानमा पनि पर्वका अवसरमा घाट निर्माण तथा व्यवस्थापन गरिन्छ । यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई–मधेसमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव र सांस्कृतिक एकताको प्रतीकका रूपमा छठ पर्वको लोकप्रियता बढ्दै गएको छ ।





















