काठमाडौं – थाइल्यान्डको पटायामा आयोजना हुने एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय शारीरिक संगठन तथा फिटनेस महासङ्घ (आईएफबीबी) को आयोजनामा कात्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुन नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रतियोगितामा सहभागी हुने खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका हुन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई प्रोत्साहित गरे । प्रतियोगितामा नेपालका तर्फबाट अनिश थापा र असिमबाबु गुरुङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा रामबहादुर दाहाल रहेका छन् ।
त्यसैगरी नेपाल बडीबिल्डिङ एन्ड फिटनेस महासङ्घका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजयकुमार बज्राचार्य पनि प्रतियोगितामा सहभागी हुनेछन् । बिदाइ कार्यक्रममा महासङ्घका पूर्वअध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, आईएफबीबीका अन्तर्राष्ट्रिय निर्णायक केशव नागा, अन्तर्राष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडी सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायक दीपेश पाठक र शम्भु अधिकारीलगायतको उपस्थिति थियो ।





















