काठमाडौं – धान भित्र्याउने तयारीमा रहेका भोजपुरका किसान असिना पानीका कारण समस्यामा परेका छन् । जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिना पानी परेपछि पाकेर खेतमा पहेँलपुर भएको धानबालीमा क्षति पुगेको हो ।
असिना पानीले धानबालीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन्। भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाका अनुसार असिना पानीले खेतमा पाकेको धानमा असर गरेको छ । उनले असिना पानी फेरि दोहोरिने हो कि भन्ने चिन्ता बढेको बताए । “हिजो एक्कासि असिना पानी पर्यो,” उनले भने, “पुनः दोहोरिने चिन्ता हामीमा बढेको छ। यही असिना पानी आएमा धानबालीमा ठूलो क्षति पुग्ने अवस्था छ ।”
उनका अनुसार कतिपय किसानले धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् । धान पाकेर भित्र्याउने समयमै मौसममा आएको परिवर्तनले किसानलाई थप चिन्तित बनाएको छ ।
असिना पानी दोहोरिएमा खेतमा पाकेको धान झर्ने र ढल्ने जोखिम छ । काटेर खेतमै सुकाइएको धानसमेत भिज्ने तथा नष्ट हुने सम्भावना रहेको किसानको भनाइ छ । धान भित्र्याउने समयमा प्रतिकूल मौसम देखिएपछि यस वर्षको उत्पादन सुरक्षित रूपमा थन्क्याउन किसानलाई चुनौती थपिएको छ ।





















