काठमाडौं – कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि ११५ प्रकारका फलफूल, तरकारी तथा अन्य कृषि उपजको मूल्य निर्धारण गरेको छ । समितिले सार्वजनिक गरेको दैनिक मूल्यसूचीअनुसार विभिन्न वस्तुको न्यूनतम, अधिकतम र औसत थोक मूल्य तोकिएको छ ।
आजको मूल्यसूचीमा सबैभन्दा महँगो वस्तु पार्सले रहेको छ। यसको मूल्य प्रतिकिलो न्यूनतम दुई हजार ४००, अधिकतम दुई हजार ८०० र औसत दुई हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, सिताके च्याउको मूल्य प्रतिकिलो ८०० देखि एक हजार रुपैयाँसम्म र कुरीलोको ७०० देखि ८०० रुपैयाँसम्म तोकिएको छ ।
तरकारीतर्फ गोलभेडा ठूलो नेपाली र भारतीय दुवैको मूल्य प्रतिकिलो ६० देखि ७० रुपैयाँ रहेको छ। सानो लोकल गोलभेडा २० देखि ३० रुपैयाँ, टनेलको ४० देखि ६० रुपैयाँ तथा भारतीय सानो गोलभेडा ३० देखि ४० रुपैयाँमा कारोबार हुने मूल्यसूचीमा उल्लेख छ ।
रातो आलुका विभिन्न प्रकारको मूल्य प्रतिकिलो ५५ देखि ६० रुपैयाँ तोकिएको छ। भारतीय रातो आलु ३० देखि ३५ रुपैयाँ र सेतो आलु २५ देखि ३२ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ। लोकल गाजरको मूल्य ८० देखि ९० रुपैयाँ र तराईको गाजरको ५० देखि ६० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, लोकल बन्दा २५ देखि ३० रुपैयाँ, स्थानीय काउली ३० देखि ४० रुपैयाँ र तराईको काउली २० देखि ३० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। रातो तथा सेतो मूला २० देखि ३० रुपैयाँ, लाम्चो भन्टा २५ देखि ३५ रुपैयाँ र डल्लो भन्टा ५० देखि ६० रुपैयाँमा कारोबार हुने सूचीमा उल्लेख छ ।
हरियो तरकारीमध्ये बोडी प्रतिकिलो ७० देखि ९० रुपैयाँ, मटरकोशा १०० देखि १३० रुपैयाँ, घिउ सिमीका विभिन्न प्रकार ५० देखि १४० रुपैयाँ र तितो करेला ७० देखि ८० रुपैयाँ तोकिएको छ। लौका ४० देखि ५० रुपैयाँ, परवर ५० देखि ८० रुपैयाँ, घिरौँला तथा चिचिण्डो ३० देखि ४० रुपैयाँ र भिण्डी ७० देखि ८० रुपैयाँमा कारोबार हुने जनाइएको छ ।
सागपाततर्फ रायो सागको मूल्य प्रतिकिलो ६० देखि १०० रुपैयाँ, पालुङ्गो साग ८० देखि १२० रुपैयाँ, चमसुर र मेथीको साग १०० देखि १५० रुपैयाँ तथा तोरीको साग ३० देखि ५० रुपैयाँ निर्धारण गरिएको छ । हरियो प्याज, लसुन र धनियाँको मूल्य प्रतिकिलो १५० देखि २५० रुपैयाँसम्म रहेको छ । पुदीनाको मूल्य ६०० देखि ७०० रुपैयाँ र सेलरीको ४०० देखि ५०० रुपैयाँ तोकिएको छ ।
फलफूलतर्फ नेपाली स्याउ प्रतिकिलो २०० देखि ३०० रुपैयाँ, फुजी स्याउ ३०० देखि ३५० रुपैयाँ र जुम्लाको स्याउ २५० देखि ३०० रुपैयाँ कायम गरिएको छ । नेपाली केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँ, कागती प्रतिकिलो १५० देखि २५० रुपैयाँ र अनार ३०० देखि ३५० रुपैयाँमा कारोबार हुने मूल्यसूचीमा उल्लेख छ ।
नेपाली सुन्तला प्रतिकिलो ७० देखि ८० रुपैयाँ र भारतीय सुन्तला ९० देखि १०० रुपैयाँ तोकिएको छ । मौसम र जुनारको मूल्य १५० देखि २०० रुपैयाँ, निबुवा ५० देखि ६० रुपैयाँ तथा नेपाली मेवा ५० देखि ६० रुपैयाँ कायम गरिएको छ । किवी र एभोकाडो प्रतिकिलो २०० देखि ३०० रुपैयाँ तथा नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा कारोबार हुने जनाइएको छ ।
मसला तथा प्याज–लसुनतर्फ सुकेको भारतीय प्याज प्रतिकिलो ८८ देखि ९२ रुपैयाँ, अदुवा ८० देखि १०० रुपैयाँ र सुकेको खुर्सानी ५०० देखि ५६० रुपैयाँ निर्धारण गरिएको छ। हरियो खुर्सानीको प्रकारअनुसार मूल्य ९० देखि २०० रुपैयाँसम्म रहेको छ। सुकेको नेपाली तथा चिनियाँ लसुन प्रतिकिलो २३० देखि २६० रुपैयाँ तोकिएको छ ।
च्याउतर्फ कन्य च्याउ प्रतिकिलो १८० देखि २५० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ र राजा च्याउ २८० देखि ३०० रुपैयाँ कायम गरिएको छ ।





















