काठमाडौं – वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मिश्रित अवस्था देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रशोधित भटमासको तेल, फलफूलको जुस तथा फलामजन्य सामग्रीको निर्यात बढेको छ भने प्रशोधित पाम तेल र अन्य खाद्य तेलको निकासी घटेको छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म निर्यातका प्रमुख पाँच वस्तुमध्ये तीन वस्तुको निकासी बढेको छ भने दुई वस्तुको घटेको छ। निर्यातमा खाद्यतेलको हिस्सा ठूलो रहे पनि अन्य वस्तुको कारोबारमा समेत विस्तार देखिएको छ ।
यस अवधिमा प्रशोधित भटमासको तेल निर्यातमा उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगन्ज नाकाबाट ३० अर्ब ६२ करोड रुपैयाँ बराबरको १२ करोड ३९ लाख लिटर भटमासको तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ६ करोड ७१ लाख लिटर मात्रै निर्यात भएको थियो । यसअनुसार भटमासको तेलको निर्यात मूल्य दोब्बरभन्दा बढी भएको छ भने परिमाण पनि उल्लेख्य बढेको छ ।
फलफूलको जुस निर्यातमा पनि सुधार आएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब २० करोड रुपैयाँ बराबरको २ करोड २६ लाख लिटर जुस निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड १२ लाख लिटर जुस निर्यात भएको थियो । मूल्य र परिमाण दुवैका आधारमा जुसको निकासी बढेको देखिन्छ ।
त्यस्तै, फलाम तथा फलामबाट बनेका सामग्रीको निर्यात पनि बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको ५५ लाख ९६ हजार किलो फलामजन्य सामग्री निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा ६५ करोड रुपैयाँ बराबरको ५१ लाख किलो मात्रै निर्यात भएको थियो। परिमाणमा सामान्य वृद्धि भए पनि निर्यात मूल्यमा उल्लेख्य बढोत्तरी देखिएको छ ।
तर प्रशोधित पाम तेलको निर्यात परिमाणमा भने सामान्य गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५१ करोड रुपैयाँ बराबरको ७९ लाख २९ हजार लिटर पाम तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ७९ लाख ६४ हजार लिटर निर्यात भएको थियो। परिमाण घटे पनि निर्यात मूल्य भने बढेको छ ।
अन्य खाद्य तेलको निकासीमा भने परिमाण र मूल्य दुवैमा गिरावट आएको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ८० करोड रुपैयाँ बराबरको ८० लाख ७२ हजार लिटर अन्य खाद्य तेल निर्यात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ६८ लाख लिटर निर्यात भएको थियो। यसले अन्य खाद्य तेलको निर्यात परिमाणमा ठूलो गिरावट आएको देखाउँछ ।
वीरगन्ज नाकाबाट हुने निर्यातमा प्रशोधित खाद्यतेलको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। भारतबाट हुने माग, अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य, प्रशोधन लागत तथा व्यापारिक नीतिले यसको निर्यातलाई प्रत्यक्ष प्रभाव पार्ने गरेको छ। नेपालले विदेशबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर भारतलगायतका बजारमा पठाउने व्यापारिक अभ्यासले पनि खाद्यतेलको निर्यातमा प्रभाव पार्दै आएको छ ।
फलफूलको जुस र फलामजन्य सामग्रीको निर्यात बढ्नुले वीरगन्ज नाकाबाट हुने निर्यात व्यापारमा वस्तुगत विविधता विस्तार हुँदै गएको संकेत गरेको छ। तर खाद्यतेलका विभिन्न प्रकारको निर्यातमा देखिएको फरक प्रवृत्तिले नेपालको निर्यात व्यापार अझै पनि बजारको माग र वस्तुअनुसार उतारचढावमा निर्भर रहेको देखाएको छ ।
स्रोतःकान्तिपुर





















