काठमाडौं – तिहारलाई लक्षित गर्दै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा व्यावसायिक फूलखेती र कारोबार बढेको छ । यस वर्ष प्रदेशमा उत्पादित फूल बिक्रीबाट किसानले करिब १० करोड रुपैयाँ आम्दानी गर्ने अनुमान गरिएको छ ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष प्रदेशभर २८१ मेट्रिक टन फूल उत्पादन भएको छ। त्यसबाट ९ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ। किसानले खेतबाटै प्रतिकिलो ३०० देखि ३५० रुपैयाँसम्ममा फूल बिक्री गरिरहेका छन् भने उपभोक्ताले प्रतिकिलो ५०० रुपैयाँसम्म तिर्नुपरेको छ ।
निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेका अनुसार प्रदेशका १२ वटै जिल्लामा सयपत्री र मखमली फूल करिब १०० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ। पछिल्ला वर्षमा सबै जिल्लामा व्यावसायिक फूलखेती विस्तार हुँदै गएको उहाँले बताउनुभयो। गत वर्ष भारतबाट चार करोड रुपैयाँभन्दा बढीको फूल आयात भएकोमा यस वर्ष आयात घटेको उहाँको भनाइ छ। यसपटक भारतबाट मात्र नभई चितवन र पूर्वी नवलपरासीबाट पनि फूल लुम्बिनी भित्रिएको छ ।
प्रदेशभर करिब ३०० किसान व्यावसायिक फूलखेतीमा संलग्न छन् । गत वर्षको तुलनामा यस वर्ष फूलखेती गर्ने किसानको संख्या झन्डै १०० ले बढेको छ । प्रदेश कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार प्रदेशमा कुल उत्पादनको ठूलो हिस्सा सयपत्री फूलको छ । १२ जिल्लामा ४९ दशमलव ७१ हेक्टर क्षेत्रफलमा सयपत्री खेती गरिएको छ ।
गैरेका अनुसार सयपत्री खेतीबाट करिब तीन महिनासम्म आम्दानी लिन सकिन्छ। एकपटक बिरुवा लगाएपछि तुलनात्मक रूपमा कम स्याहारसुसार गर्नुपर्ने र तिहार तथा छठजस्ता चाडपर्वमा माग उच्च हुने भएकाले किसानको आकर्षण बढेको हो । यस वर्ष गत वर्षको तुलनामा फूल उत्पादन झन्डै १०० मेट्रिक टनले बढेको उनले बताए ।
निर्देशनालयले यस वर्ष प्रदेशमा २५९ मेट्रिक टन सयपत्री फूल उत्पादन हुने अनुमान गरेको छ। यसबाट नौ करोड छ लाख रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण छ। त्यस्तै, २१ मेट्रिक टन मखमली फूल उत्पादन हुने र त्यसबाट ७३ लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ । सयपत्री र मखमलीबाहेक केही स्थानमा गुलाबलगायत कट फ्लावरसमेत उत्पादन हुँदै आएको छ ।
फूलखेतीको क्षेत्रफलका आधारमा कपिलवस्तु अगाडि छ भने उत्पादन र कारोबारमा दाङले अग्रता लिएको छ । कपिलवस्तुमा सबैभन्दा बढी २१ हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ। त्यहाँ ४८ मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ । तर, कारोबारका हिसाबले कपिलवस्तु चौथो स्थानमा छ । यहाँ फूल बिक्रीबाट एक करोड तीन लाख २० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।
दाङमा ८ दशमलव ८ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४८ दशमलव ५ मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ । जिल्लामा एक करोड ५२ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार हुने प्रक्षेपण गरिएको छ । बाँकेमा पाँच हेक्टर क्षेत्रफलमा फूलखेती गरिएको छ । त्यहाँ ३८ दशमलव ५ मेट्रिक टन उत्पादन हुने र एक करोड ५१ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।
रुपन्देहीमा २ दशमलव ८३ हेक्टर क्षेत्रफलमा फूलखेती भए पनि उत्पादन ४२ दशमलव ४५ मेट्रिक टन पुग्ने अनुमान छ। यहाँ फूल बिक्रीबाट एक करोड ४८ लाख ५७ हजार ५०० रुपैयाँ आम्दानी हुने निर्देशनालयको प्रक्षेपण छ। पाल्पामा पाँच हेक्टरमा खेती गरी ३९ मेट्रिक टन फूल उत्पादन हुने र ७७ लाख ४० हजार रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। नवलपरासी पश्चिममा ३ दशमलव ७५ हेक्टरमा खेती गरी २५ मेट्रिक टन उत्पादन तथा ६२ लाख ५० हजार रुपैयाँको कारोबार हुने अनुमान छ ।
रोल्पा, गुल्मी, प्युठान, रुकुम पूर्व र अर्घाखाँचीमा पनि व्यावसायिक फूलखेती भइरहेको छ। बर्दियामा भने सबैभन्दा कम क्षेत्रफलमा खेती गरिएको छ। त्यहाँ १ दशमलव २३३ हेक्टरमा गरिएको खेतीबाट तीन मेट्रिक टन फूल उत्पादन हुने अनुमान छ । निर्देशनालयका अनुसार आर्थिक कारोबारमा दाङपछि बाँके, रुपन्देही र पाल्पा अगाडि छन् ।
पश्चिम नवलपरासीका किसान नारायण न्यौपानेले यस वर्ष फूलखेतीबाट करिब २० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गर्नुभएको छ। उहाँले साउनमा १८ कट्ठा जग्गा भाडामा लिएर फूलखेती सुरु गर्नुभएको थियो। असोजदेखि फूल टिप्न थाल्नुभएका उहाँले मंसिरभरि उत्पादन लिन सकिने गरी चरणबद्ध रूपमा खेती गरेको छ । गत वर्ष १२ लाख रुपैयाँ आम्दानी भएकोमा यस वर्ष उत्पादन र बिक्री बढेकाले आम्दानी पनि बढ्ने उहाँको अनुमान छ ।
बुटवलका व्यावसायिक किसान राजेश कुँवरका अनुसार फूल उत्पादन गर्न सके बजारको समस्या छैन। दसैँ, तिहार र मंसिरमा मागअनुसार फूल पुर्याउनसमेत कठिन हुने गरेको उ बताउछन् । जिल्लाजिल्लामा उत्पादन बढेकाले यस वर्ष भारतबाट आउने फूलको परिमाण पनि घटेको उनको भनाइ छ ।
किसानले उत्पादन बढाए पनि बजार व्यवस्थापनमा स्थानीय तहको सहयोग आवश्यक रहेको कुँवरको भनाइ छ। उहाँले फूल बिक्रीका लागि स्थानीय तहले सहजीकरण गर्नुपर्ने र तिहारमा बाहिरबाट भित्रिने प्लास्टिकका माला निरुत्साहित गर्नुपर्ने बताउनुभएको छ। अहिले पनि करिब १० प्रतिशत प्लास्टिकका माला प्रयोग हुने गरेको उनको दाबी छ ।
स्थानीय उत्पादन बढ्दै जाँदा आयातमा निर्भरता घट्नुका साथै किसानको आम्दानी बढ्ने सम्भावना देखिएको छ। तर, फूलखेतीलाई दिगो व्यवसायका रूपमा विस्तार गर्न उत्पादनसँगै बजार व्यवस्थापन, भण्डारण, बिक्री वितरण र प्लास्टिकका मालाको प्रयोग नियन्त्रणमा समेत ध्यान दिनुपर्ने देखिन्छ ।
स्रोतः कान्तिपुर





















