काठमाडौं – तिहारमा लक्ष्मीपूजाका लागि कुचो किन्ने परम्पराले नेपाली बजारमा अम्रिसो कुचोको व्यापार बढाएको छ । नेपालमा उत्पादन हुने कुचो विदेश निर्यात हुनुका साथै तिहारका बेला स्वदेशमै ठूलो परिमाणमा खपत हुने गरेको छ । यस वर्ष तिहारमा देशभर करिब २० करोड रुपैयाँ बराबरको अम्रिसो कुचो कारोबार हुने अनुमान गरिएको छ । नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीका अनुसार तिहारका बेला काठमाडौं उपत्यकामा मात्रै करिब १० करोड रुपैयाँ बराबरको कुचो किनबेच हुन्छ । पोखरा, विराटनगरलगायत ठूला सहरमा पनि यसको माग उच्च रहने गरेको छ ।
धनतेरसका दिन नयाँ कुचो किनेर लक्ष्मीपूजामा प्रयोग गर्ने धार्मिक तथा सांस्कृतिक प्रचलनका कारण तिहारमा यसको व्यापार बढ्ने गरेको कार्कीले बताए । धनतेरसमा सुनचाँदी, तामाका भाँडा, बेसार, धनियाँसँगै कुचो किन्ने चलन रहेको उनको भनाइ छ । यस वर्ष तिहारमा कुचोको मूल्य प्रतिगोटा ४५ रुपैयाँदेखि ४०० रुपैयाँसम्म पुगेको छ । खुला कुचो भने प्रतिकिलो १०० रुपैयाँमा बिक्री भइरहेको संघले जनाएको छ । तिहारमा स्वदेशी बजारमा माग बढे पनि अन्य समयमा नेपाली अम्रिसो कुचोको प्रमुख बजार भारत रहेको छ । भारत र बंगलादेशमा नेपाली कुचो निर्यात हुँदै आएको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४३ लाख ८२ हजार ५१० किलो कुचो निर्यात भएको छ । उक्त अवधिमा भारतमा ३१ करोड १९ लाख ३१ हजार रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा ४० लाख ९९ हजार २७० किलो कुचो निर्यात भएको थियो । यसरी एक वर्षको अवधिमा पहिलो तीन महिनाको कुचो निर्यात परिमाणमा वृद्धि भएको देखिन्छ ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट भारत र बंगलादेशमा कुल ८६ करोड ७० लाख ९८ हजार रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो । त्यसमध्ये भारतमा ८६ करोड १८ लाख ३५ हजार र बंगलादेशमा ५२ लाख ६२ हजार रुपैयाँ बराबरको कुचो निर्यात भएको विभागको तथ्याङ्क छ । नेपाल कुचो संघका अनुसार नेपालमा उत्पादन हुने कुचोमध्ये करिब ७४ प्रतिशत भारत र एक प्रतिशत बंगलादेश निर्यात हुने गरेको छ । इलाम, पाँचथर, सङ्खुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ र पाल्पा अम्रिसो उत्पादनका प्रमुख जिल्लाका रूपमा रहेका छन् । पछिल्लो समय अम्रिसोको बजार विस्तारसँगै यसको खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको संघका अध्यक्ष कार्की बताउछन् ।
अम्रिसोबाट कुचो उत्पादन हुनुका साथै यसको घाँस पशुपालनमा उपयोगी हुने र बाढीपहिरो तथा भूक्षय नियन्त्रणमा समेत सहयोग पुग्ने भएकाले खेती विस्तार भइरहेको उनको भनाइ छ । वैदेशिक रोजगारीका कारण गाउँघरका खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि खुला जग्गामा अम्रिसो रोप्ने प्रचलनसमेत बढेको छ । नेपालले लामो समयदेखि भारतमा कुचो निर्यात गर्दै आएको छ । आर्थिक वर्ष २०८०र८१ मा सबैभन्दा बढी एक अर्ब ३२ करोड ५२ लाख रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो । त्यसपछि आर्थिक वर्ष २०८१र८२ मा एक अर्ब १५ करोड सात लाख रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ ।
यद्यपि, नेपाली कुचोको निर्यात बजार विस्तारमा बंगलादेशको उच्च भन्सार दर चुनौतीका रूपमा रहेको संघले जनाएको छ । अध्यक्ष कार्कीका अनुसार बंगलादेशले नेपाली कुचो आयातमा ५१ प्रतिशतसम्म भन्सार कर लगाउने गरेको छ । यसको तुलनामा भुटानबाट निर्यात हुने कुचोमा शून्य भन्सार सुविधा रहेको उनको दाबी छ । उच्च भन्सार दरका कारण नेपाली कुचोले बंगलादेशी बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको कार्कीको भनाइ छ । नेपाल सरकारले कूटनीतिक पहल र व्यापार वार्तामार्फत भन्सार दर घटाउन सके निर्यात बजार विस्तार गर्न सकिने उनले बताए ।
नेपालमा अम्रिसोको उत्पादन वार्षिक करिब १५ प्रतिशतले बढिरहेको संघको दाबी छ । उत्पादनसँगै बजार विस्तार, प्रशोधन र निर्यात सहजीकरणमा ध्यान दिन सके अम्रिसो खेती ग्रामीण अर्थतन्त्र, किसानको आम्दानी र वैदेशिक व्यापारका लागि थप सम्भावनायुक्त क्षेत्र बन्न सक्ने देखिन्छ ।
स्रोतः कान्तिपुर





















