काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालमा ११ करोड ६८ लाख रुपैयाँभन्दा बढीको तास आयात भएको छ। भन्सार विभागको तथ्याङ्कअनुसार दसैँ–तिहारलाई लक्षित गर्दै साउनदेखि असोजसम्म ३४ लाख २२ हजार ६६१ बट्टा तास नेपाल भित्रिएको हो । उक्त परिमाणको तास आयात गर्दा सरकारले भन्सार राजस्वबापत मात्रै ७ करोड ७ लाख ७४ हजार रुपैयाँ सङ्कलन गरेको छ। आयातित तासको कुल मूल्यको तुलनामा यो राजस्व करिब ६० प्रतिशत हो ।
तास आयातबाट सरकारले उल्लेख्य राजस्व सङ्कलन गरिरहँदा यसको प्रयोग र कानुनी व्यवस्थाबीचको विरोधाभास पनि देखिएको छ। एकातिर प्रहरीले गाउँदेखि सहरसम्म जुवातास खेल्नेहरूमाथि कार बाही गर्दै आएको छ भने अर्कोतिर भन्सार नाकाबाट लाखौँ बट्टा तास आयात भइरहेको छ ।
नेपालको कानुनी व्यवस्थाले जादु देखाउने तथा अन्य खेलमा प्रयोग गर्ने प्रयोजनका लागि तास आयात गर्न अनुमति दिएको छ । तर, व्यवहारमा आयात हुने तासको प्रयोग जुवातासमा समेत हुने गरेको छ। जुवातास खेल्ने कार्य भने कानुनले निषेध गरेको छ ।
तास आयातलाई मनोरञ्जन तथा खेलकुद सामग्रीका रूपमा अनुमति दिइए पनि यसको दुरुपयोग रोक्ने विषय चुनौतीपूर्ण देखिएको छ । एकातिर जुवातास नियन्त्रणका लागि प्रहरी परिचालन हुने र अर्कोतिर त्यही प्रयोजनमा प्रयोग हुन सक्ने सामग्रीको ठूलो परिमाणमा आयात हुने अवस्थाले कानुनी कार्यान्वयन र नियमनमाथि प्रश्न उठाएको छ ।
तास आयातबाट सरकारले राजस्व प्राप्त गरिरहे पनि यसको प्रयोगलाई कसरी नियमन गर्ने र गैरकानुनी जुवालाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा स्पष्ट नीति तथा प्रभावकारी कार्यान्वयन आवश्यक देखिन्छ ।





















