images
images
  • सवारी चाप र पहिरोका कारण घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

    काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको सडक दुईतर्फी खुलाउन कठिन भएको छ । चाडपर्वका कारण सवारीसाधनको चाप बढ्नुका साथै पहिरो ठूलो भएकाले सडक सञ्चालन सहज बनाउन समस्या भएको हो ।

    इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबारदेखि मङ्गलबारसम्म लगातार सुक्खा पहिरो खसेको थियो । पहिरो पन्छाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो ठूलो हुनु र मजदुर बिदामा जानुले पनि सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको हो । “पहिरो ठूलो हुँदा र मजदुर बिदामा जाँदा सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याउन कठिन भएको हो,” उनले भने । पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसेमा तत्काल सफा गरेर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको थापाले बताए ।

    मौसमको अनुकूलता, सवारीसाधनको चाप र सडकको अवस्थासमेत मूल्याङ्कन गरेर मात्रै दुईतर्फी यातायात सञ्चालन गरिने प्रहरीले जनाएको छ । पृथ्वी राजमार्ग हुँदै सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन तथा यात्रु यस क्षेत्रमा पटक–पटक खस्ने पहिरोका कारण प्रभावित हुँदै आएका छन् । सडक एकतर्फी सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले चालक तथा यात्रुलाई आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images