images
images
  • सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध

    काठमाडौं – चट्टानसहितको सुक्खा पहिरो खसेपछि कालीगण्डकी करिडोर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिका–२ राक्सेमा पहिरो खस्दा गएरातिदेखि सडक अवरुद्ध भएको हो । सडक बन्द भएपछि तिहारका लागि आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो गएको स्थानमा प्रहरी चौकी पूर्तिघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली खटिएको छ । सडकमा थुप्रिएको पहिरो हटाउन स्थानीय कालीगण्डकी गाउँपालिका र प्रहरीबीच समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

    सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरातर्फ जाने र त्यहाँबाट गुल्मी आउने सवारीसाधन प्रभावित भएका छन् । तिहारको समयमा सडक बन्द भएपछि रातिदेखि नै यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन् ।

    कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि यस सडकखण्डमा सवारी चाप बढ्दै गएको छ । जिल्लाका व्यस्त सडकमध्ये पर्ने करिडोर अवरुद्ध हुँदा लामो दूरीका यात्रु तथा स्थानीय आवागमनमा समेत समस्या भएको छ ।

    पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images