काठमाडौं – पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । घाँटीछिनाबाट पोखरातर्फ आउँदै गरेको ग ४ च १३४४ नम्बरको जिप गएराति अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज पुर्याइएको थियो। उपचारका क्रममा गम्भीर घाइते पर्वत घर भई हाल पोखरा महानगरपालिका–२४ पामे बस्दै आएका २३ वर्षीय मिलन गुरुङको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
दुर्घटनामा घाँटीछिनाका १५ वर्षीय विवेक विक, १६ वर्षीय विवस पराजुली र पोखरा–२३ का १४ वर्षीय अमित सुनार घाइते भएका छन्। त्यस्तै, घाँटीछिनाकै १८ वर्षीया अनिशा नेपाली, १२ वर्षीय उज्ज्वल सुनार, ११ वर्षीय निशान नेपाली, १४ वर्षीय सन्देश नेपाली, २० वर्षीय मुस्कान गुरुङ, १२ वर्षीय आसिस सुनार र १३ वर्षीय सन्जल सुनार पनि घाइते भएका छन् ।
यसैगरी, सोही ठाउँका १९ वर्षीया निसा नेपाली र २० वर्षीय दिपिन खत्री घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ ।
प्रहरीले जिप चालक पोखरा महानगरपालिका–२४ लौरुक निवासी २३ वर्षीय टोकबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





















