images
images
  • वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

    काठमाडौं – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको छ । चामल, धान, मकै, गहुँ, माल्ट, फापर र कोदोलगायत खाद्यान्नको आयातमा कमी आएको हो ।

    वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको साउनदेखि असोजसम्म तीन करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आठ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो ।

    भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो । चामल आयातको मूल्य पनि अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर चालु आवमा ७० करोड रुपैयाँमा झरेको छ ।

    धान आयातमा पनि ठूलो गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा तीन करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ । धान आयातको मूल्यसमेत एक अर्ब ४६ करोड २८ लाख रुपैयाँबाट घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ ।

    त्यस्तै, मकै आयात पनि उल्लेख्य रूपमा घटेको छ । अघिल्लो आवको पहिलो तीन महिनामा तीन करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकामा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको भन्सार कार्यालयको तथ्याङ्क छ । मकै आयातको मूल्य पनि एक अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ ।

    फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा समेत कमी आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकामा चालु आवको सोही अवधिमा १६ लाख ४० हजार ५५५ किलो मात्रै आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

    वीरगञ्ज नाकाबाट खाद्यान्न आयातमा आएको यो गिरावटले आयातको परिमाण र मूल्य दुवै घटेको देखाएको छ । यद्यपि, आयात घट्नुको कारणबारे भन्सार कार्यालयको विवरणमा खुलाइएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images