images
images
  • तनहुँमा प्रहरीको सर्च एण्ड स्विप अपरेसन, ३३ जना नियन्त्रणमा

    काठमाडौं – तनहुँ प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । गैरकानुनी गतिविधि नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले विभिन्न स्थानमा गरेको अपरेसनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ३३ जनामध्ये चार जनालाई आफन्तको जिम्मा लगाएर छाडिएको छ भने बाँकी २९ जनामाथि थप अनुसन्धान भइरहेको छ ।

    अभियानअन्तर्गत लागुऔषध नियन्त्रण, जुवातास, अवैध मदिराको कारोबार, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग रोकथामलगायतका विषयलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

    यसैबीच, पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले चालक सचेतना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । कार्यक्रमका क्रममा दुईपाङ्ग्रे ३९, चारपाङ्ग्रे साना ६७ र ठूला ५४ गरी कुल १६० वटा सवारीसाधनका चालकलाई सचेत गराइएको छ ।

    प्रहरीले चालकहरूलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतना प्रदान गरेको जनाएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्न र गैरकानुनी गतिविधि नियन्त्रण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images