काठमाडौं – मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा भएको इभी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुने चालक सर्लाहीको कविलासी नगरपालिका–८ का रविशङ्करकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् ।
घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यसअघि पाँच जना घाइते भएको विवरण सार्वजनिक भएकोमा पछिल्लो विवरणअनुसार घाइतेको सङ्ख्या छ पुगेको हो ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय गाडी बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो ।
दुर्घटनामा मृत्यु भएका अन्य व्यक्तिको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।





















