काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज शोक वक्तव्य जारी गर्दै काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको बताएका छन् ।
उनले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई यो असह्य दुःख सहन सक्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन् ।
भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत आज बिहान चिसापानी गढीमा माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । प्रहरीले मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको र अन्यको पहिचान गर्ने प्रक्रिया जारी रहेको जनाएको छ ।





















