images
images
  • एनपीएल तेस्रो संस्करण: सन्दीपको ह्याट्रिकसहित ६ विकेटमा पोखरा १३२ रनमा अलआउट

    काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई १३३ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा अलआउट भयो । विराटनगरका कप्तान सन्दीप लामिछाने ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखराको ब्याटिङ धराशाही भएको हो ।

    पोखराका लागि ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेल्दै ४७ बलमा ७ चौका र पाँच छक्कासहित ८४ रनको योगफल बनाए । त्यस्तै धनन्जय लक्षणले २२ र सनी बिकेले १२ रन जोडे ।

    विराटनगर किङ्सका कप्तान लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २७ रन दिएर सर्वाधिक ६ विकेट लिए । जसमा ह्याट्रिक समावेश छ ।

    सन्दीपले एनपीएलमा आज करिअरकै सानदार बलिङ गरे । एनपीएलमा समग्रमा एक खेलमा ६ विकेट लिने खेलाडीमा सन्दीप तेस्रो बलर बनेका छन् ।

    यसअघि काठमाडौं गोर्खाजमा आबद्ध स्पिनर साहब आलम र विल बोसिस्टोको नाममा यो रेकर्ड रहेको छ ।

    गत संस्करणमा सन्दीप उत्कृष्ट बलर घोषित भएका थिए । उक्त सिजनमा उनले नौ खेलमा १७ विकेट लिएका थिए । पहिलो संस्करणमा सन्दीपले सात खेलमा ६ विकेट लिएका थिए ।

    त्यस्तै एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए । प्लेअफ सम्भावना जीवित राख्न पोखरा र विराटनगर दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ ।

    अंक तालिकामा छैटौं स्थानमा रहेको विराटनगरले पाँच खेल खेल्दा दुईमा जित र तीन खेलमा हारको सामना गरेको छ । तालिकाको आठौं स्थानमा रहेको पोखराले भने पाँच खेलमा चारमा हार र एक खेलमा मात्र जित दर्ता गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images