काठमाडौं – डब्लिन,युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग हुने आगामी शान्ति वार्तामा युरोपेली सङ्घ (ईयू) का प्रतिनिधिहरूलाई पनि सहभागी गराउने अमेरिकी प्रतिनिधि जारेड कुश्नर र स्टिभ विटकफको प्रतिबद्धताको समर्थन गरेका छन् । यस साता युरोपेली नेताहरूले आफ्नो क्षेत्रको सुरक्षालाई लिएर बढ्दो चिन्ता व्यक्त गरिरहेको समयमा जेलेन्स्कीले वार्तामा युरोपेली प्रतिनिधिहरूको सहभागिताले ईयूलाई पनि छलफलमा आफ्नो धारणा राख्ने अवसर दिने बताएका हुन् ।
कुश्नर र विटकफले बिहीबार साँझ आयरल्यान्डको राजधानी डब्लिनमा जेलेन्स्कीसँग भेट गरेका थिए । उनीहरूले यसअघि मस्कोमा रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँग भेट गरेका थिए । सो भेटमा पुटिनले युक्रेन युद्धबारे रुसको अडान र भूभागसम्बन्धी मागमा कुनै परिवर्तन नभएको बताएका थिए । यी भेटघाटहरू गत साता अबुधाबीमा भएको वार्तापछि भएका हुन् । सो वार्ताले युद्ध अन्त्य गर्ने विषयमा कुनै ठोस दिएको थिएन ।
बिहीबार रुस र युक्रेनबिच अर्को पटक युद्ध बन्दी आदानप्रदान गर्ने सहमति भएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण स्तरको आक्रमण सुरु गरेयता यो सबैभन्दा ठुलो युद्ध बन्दी आदानप्रदान हुने बताइएको छ । कुश्नरले यस प्रक्रियाबाट ‘हजारौँ मानिस आफ्नो परिवारमा फर्किने’ बताएका छन् । यद्यपि कति जना युद्ध बन्दी साटासाट हुने र यो प्रक्रिया कहिले सम्पन्न हुने भन्नेबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
जेलेन्स्कीले विगत केही वर्षदेखि नै शान्ति वार्तामा युरोपेली प्रतिनिधिहरूलाई सहभागी गराउन माग गर्दै आएका थिए । युक्रेनको दीर्घकालीन लक्ष्य युरोपेली सङ्घको सदस्य बन्नु भएकाले पनि यस्तो सहभागिता आवश्यक रहेको उनको भनाइ छ । बिहीबार कुश्नरले अमेरिकाले पछिल्ला केही महिनादेखि युरोपेली मुलुकहरूसँग निकै नजिक रहेर काम गरिरहेको बताए । उनका अनुसार यो सहकार्य अत्यन्त महत्त्वपूर्ण रहेको छ ।
मस्कोले शान्ति वार्तामा युरोपेली मुलुकहरूको सहभागितालाई खासै महत्त्व दिएको छैन । युरोपेली नेताहरूले युद्धपछिको अवस्थामा आफ्नो महादेशको भविष्य र सुरक्षासँग सम्बन्धित विषयमा आफूहरूको भूमिका केन्द्रीय हुने तर्क गर्दै आएका छन् । आयरल्यान्डका प्रधानमन्त्री मिहोल मार्टिनले बिहीबार आयरल्यान्डको राजधानीमा भेला भएका युरोपेली नेताहरूलाई सम्बोधन गर्दै रुसको युद्धका कारण क्षेत्रीय सुरक्षाको अवस्था ‘मूलभूत रूपमा परिवर्तन भएको’ बताएका थिए । हाल युक्रेनको करिब पाँच भागको एक भाग भूभाग रुसी सेनाको नियन्त्रणमा छ । साथै, सीमा क्षेत्रमा दुवै पक्षबिच हुने घुसपैठ र आक्रमणका घटना पनि बढिरहेका छन् ।
स्टार लिङ्क सेवाको विषयमा अमेरिका र युक्रेनबिच तनाव
बिहीबार विटकफ र कुश्नरले जेलेन्स्कीसँग भेट गर्नुअघि नै अमेरिका र युक्रेनबिचको तनाव पनि सतहमा देखिएको थियो । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो सेनाले स्टार लिङ्कको सैन्य प्रयोजनका लागि प्रयोग हुने स्याटलाइट सेवा ‘स्टारशिल्ड’ मा थप व्यवस्थित प्रतिबन्धहरूको सामना गरिरहेको बताएका थिए । यसका कारण रुसी जेट इन्जिनबाट सञ्चालित ड्रोनहरूलाई रोक्न युक्रेनी सेनालाई कठिनाइ भइरहेको उनको भनाइ थियो ।
अरबपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्वामित्वमा रहेको यो प्रविधिले युक्रेनमा सरकारी तथा सैन्य सञ्चार सम्पर्क कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।





















