काठमाडौं – विश्वकै मूल्यवान प्रविधि कम्पनीमध्ये एक एनभिडियाले प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी दिएको छ । कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य दुवै क्षेत्रबाट योग्य उम्मेदवारको खोजी गर्ने जनाएको छ ।
कम्पनीले बिहीबार जारी गरेको विज्ञप्तिमा क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जानकारी गराएको हो । उनले नयाँ जिम्मेवारीसँगै सीएफओको पदसमेत सम्हाल्नेछिन् । एनभिडियाको नेतृत्व परिवर्तनसँगै कम्पनीको आगामी व्यावसायिक रणनीति र व्यवस्थापनबारे चासो बढेको छ ।
क्रेससँग प्रविधि उद्योगको वित्तीय व्यवस्थापनमा तीन दशकभन्दा लामो अनुभव छ । उनी सन् २०१३ देखि एनभिडियाको वित्तीय विभागको नेतृत्व गर्दै आएकी छन् । सन् २०१३ सेप्टेम्बरमा कार्यकारी उपाध्यक्ष तथा सीएफओका रूपमा कम्पनीमा प्रवेश गरेकी उनले वित्तीय रणनीति, लगानी योजना, व्यावसायिक विस्तार र आर्थिक प्रतिवेदन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकी छन् ।
एनभिडियाका त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा उनी नियमित रूपमा कम्पनीका शीर्ष नेतृत्वसँगै लगानीकर्तासामु उपस्थित हुने गर्थिन् । कृत्रिम बौद्धिकता (एआई) र चिप प्रविधिको क्षेत्रमा कम्पनीले तीव्र विस्तार गरिरहेका बेला वित्तीय व्यवस्थापनलाई प्रभावकारी बनाउन उनको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
एनभिडियामा आबद्ध हुनुअघि क्रेसले टेक्सास इन्स्ट्रुमेन्ट्स, माइक्रोसफ्ट र सिस्कोजस्ता विश्वप्रसिद्ध प्रविधि कम्पनीमा काम गरिसकेकी छन् । टेक्सास इन्स्ट्रुमेन्ट्समा आठ वर्ष वित्तीय क्षेत्रमा काम गरेपछि उनी सन् १९९७ मा माइक्रोसफ्ट प्रवेश गरेकी थिइन् । माइक्रोसफ्टमा सन् २०१० सम्म विभिन्न वित्तीय जिम्मेवारी सम्हालेकी उनले सन् २००६ मा सर्भर एन्ड टुल्स डिभिजनको सीएफओको जिम्मेवारी पाएकी थिइन् ।
माइक्रोसफ्ट छाडेपछि सन् २०१० मा उनी सिस्कोमा वरिष्ठ उपाध्यक्ष तथा सीएफओका रूपमा आबद्ध भएकी थिइन् । त्यहाँ उनले कम्पनीको व्यावसायिक प्रविधि तथा सञ्चालनसम्बन्धी वित्तीय रणनीति र विकासको जिम्मेवारी सम्हालेकी थिइन् । सिस्कोमा तीन वर्ष काम गरेपछि उनी एनभिडियामा पुगेकी हुन् ।
क्रेसले युनिभर्सिटी अफ एरिजोनाबाट वित्त विषयमा स्नातक र साउदर्न मेथोडिस्ट युनिभर्सिटीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर (एमबीए) गरेकी छन् । उनको शैक्षिक विवरण एनभिडियाले अमेरिकी धितोपत्र तथा विनिमय आयोगमा बुझाएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
फर्च्युन पत्रिकासँग सन् २०२४ मा कुराकानी गर्दै उनले एनभिडियामा प्रवेश गर्दा आफूले काम गरेका अन्य कम्पनीको तुलनामा यो निकै सानो कम्पनी रहेको बताएकी थिइन् । तर, पछिल्ला वर्षमा एआई र चिप प्रविधिको माग बढेसँगै एनभिडियाले अभूतपूर्व व्यावसायिक विस्तार गरेको छ । कम्पनीको यही वृद्धिसँगै क्रेसको व्यक्तिगत सम्पत्तिसमेत उल्लेख्य रूपमा बढेको छ ।
फोर्ब्सको सन् २०२६ को अमेरिकाका धनी स्वनिर्मित महिलाको सूचीमा उनी ३२औँ स्थानमा रहेकी छन् । रोयटर्सका अनुसार बुधबार सेयर बजार बन्द हुँदाको मूल्यका आधारमा एनभिडियामा उनको स्वामित्वमा रहेको सेयरको मूल्य करिब ७५ करोड अमेरिकी डलर पुगेको थियो । गत महिना कम्पनीको सेयर मूल्य उच्च बिन्दुमा पुग्दा उनको सेयरको मूल्य एक अर्ब डलरभन्दा बढी भएको थियो ।
यसैबीच, एनभिडियाको सञ्चालक समितिमा पनि नेतृत्व परिवर्तन भएको छ । कम्पनीले हार्भी सी जोन्सलाई नयाँ अध्यक्ष नियुक्त गरेको जनाएको छ । जोन्स सन् १९९३ देखि एनभिडियाको सञ्चालक समितिमा आबद्ध छन् । उनले यसअघि सिनोप्सिस कम्पनीको प्रमुख कार्यकारी अधिकृत तथा कार्यकारी अध्यक्षका रूपमा काम गरिसकेका छन् ।
एआई चिप बजारमा विश्वव्यापी अग्रणी स्थान बनाएको एनभिडियाको नेतृत्व परिवर्तनलाई प्रविधि क्षेत्रले चासोका साथ हेरिरहेको छ । अन्तरिम सीईओको जिम्मेवारी सम्हालेकी क्रेसले कम्पनीको वित्तीय तथा व्यावसायिक विस्तारलाई निरन्तरता दिँदै स्थायी नेतृत्व चयन नहुँदासम्म व्यवस्थापन सम्हाल्नेछिन् ।





















