काठमाडौं – म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका बासिन्दाले विपद् र दुर्घटनामा परेकालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले एक करोड रुपैयाँको आपत्कालीन अक्षयकोष स्थापना गरेका छन् । कोषमा हालसम्म ७० लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
बेगखोला कल्याणकारी समाजका संस्थापक योगकुमार फगामीका अनुसार दुर्घटनामा घाइते भएका, गर्भवती, बिरामी तथा विपद्बाट प्रभावितलाई सहयोग गर्न अक्षयकोष स्थापना गरिएको हो । कोषमा एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको उनले बताए ।
“हालसम्म ७० लाख रुपैयाँ सङ्कलन भएको छ । लक्ष्यअनुसार एक करोड रुपैयाँ पुगेपछि मूलधन खर्च नगरी त्यसबाट प्राप्त हुने ब्याज रकम सहयोगका लागि परिचालन गरिनेछ”, फगामीले भने ।
साविक बेग गाविसअन्तर्गत तिप्ल्याङ, बादुक, बेगखोला, सिम र बेगटोलमा गरी करिब एक हजार जनसङ्ख्या रहेको छ । स्थानीयस्तरमै आपत्कालीन सहयोगको व्यवस्था गर्न स्थापना गरिएको कोषले विपद् तथा स्वास्थ्यसम्बन्धी समस्यामा परेका बासिन्दालाई राहत पुग्ने अपेक्षा गरिएको छ ।





















