काठमाडौं – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा १० जनाभन्दा बढी घाइते भएका छन् । छठतिहारको अवसरमा आयोजित चियापान कार्यक्रमपछि बिहीबार पार्टीकै दुई पक्षबीच विवाद चर्किएर झडप भएको हो ।
रास्वपाबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य रहबर अंसारीको प्रमुख आतिथ्यमा चियापान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम सकिएपछि सोही वडाका पूर्ववडाध्यक्षसमेत रहेका रास्वपा कार्यकर्ता असलम देवान र अर्का कार्यकर्ता सुवास मंसुरी पक्षका समर्थकबीच व्यक्तिगत रिसइबीका कारण आरोप–प्रत्यारोप र भनाभन सुरु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब निरीक्षक दयाकृष्ण भट्टका अनुसार सांसद अंसारी कार्यक्रमस्थलबाट निस्किएपछि गाउँमा दुई पक्षबीच विवादले उग्र रूप लिएको थियो । भनाभन भने चियापान कार्यक्रमकै क्रममा सुरु भएको उहाँले बताउनुभयो । कार्यकर्ताबीच गुटबन्दी भएर दोहोरो भनाभन भएपछि झडप भएको र स्थिति नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।
झडप नियन्त्रण गर्ने क्रममा स्थानीयको आक्रोशित भीडबाट प्रहरी सहायक निरीक्षक भाग्यनारायण यादवसमेत सामान्य घाइते भएका छन् । तनाव व्यवस्थापनका क्रममा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेलसमेत भएको थियो । घटनापछि इलाका प्रहरी कार्यालय सिमराले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।
झडपमा घाइते भएका कार्यकर्तालाई वीरगन्ज–१४ गण्डकस्थित हेल्थकेयर अस्पतालमा उपचारका लागि लगिएको थियो । तर, अस्पतालमा समेत गाउँबाट पुगेका कार्यकर्ताबीच पुनः विवाद र झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय श्रीपुरले थप नौ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई श्रीपुरस्थित प्रहरी कार्यालयमा राखिएको छ । यससँगै घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई स्थानबाट कुल १४ जनालाई नियन्त्रणमा लिएको छ ।
झडपमा घाइते भएका सात जनाको वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीलाई हेल्मेटले प्रहार गरिएको र उनीहरूको टाउकोलगायत शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ ।





















