काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले इतिहासको प्रवाहलाई कसैले रोक्न नसक्ने भन्दै ताइवानसँग चीनको पुनः एकीकरण भएरै छाड्ने बताएका छन् ।
बिहीबार बेइजिङमा आयोजित एक कार्यक्रममा उनले ताइवानसँग शान्तिपूर्ण पुनः एकीकरणको पक्षमा चीन रहेको बताएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका लागि ताइवानको प्रश्न समाधान गर्नु ‘अटल ऐतिहासिक जिम्मेवारी’ भएको सीले बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा आयोजित कार्यक्रममा बताए ।
उनले भने, ‘इतिहासको प्रवाहलाई रोक्न सकिँदैन । मातृभूमिको पूर्ण पुनः एकीकरण हासिल हुनैपर्छ र यो निश्चित रूपमा भएरै छाड्नेछ ।’
यद्यपि उनले आफ्नो सम्बोधनमा सैन्य बल प्रयोग गर्ने विषय भने उल्लेख गरेनन् । सीको भनाइप्रति ताइवान सरकारले भने कडा आपत्ति जनाएको छ ।
चीनले लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानलाई आफ्नो भूभाग मान्दै आएको छ । तर ताइवानले चीनको उक्त दाबी अस्वीकार गर्दै आएको छ । चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा ल्याउन ‘एक देश, दुई प्रणाली’ अन्तर्गत स्वायत्तताको प्रस्ताव गर्दै आएको भए पनि ताइवानका कुनै पनि प्रमुख राजनीतिक दलले यसलाई स्वीकार गरेका छैनन् ।
ताइवानको मुख्य भूमि मामिला परिषद्ले ‘एक देश, दुई प्रणाली’ को अवधारणा ताइवान सरकार र त्यहाँका जनताले स्वीकार गर्न नसक्ने जनाएको छ । उक्त अवधारणा अन्ततः चिनियाँ कम्युनिस्ट पार्टीको अधिनायकवादी शासन स्वीकार गर्नुसरह हुने परिषद्को भनाइ छ।
परिषद्का प्रवक्ता लियाङ वेन चिएहले पत्रकारहरूसँग कुरा गर्दै ताइवानको एकीकरणबारे सीको अभिव्यक्ति विगतका भनाइभन्दा खासै फरक नरहेको बताए ।
क्रान्तिकारी नेता सन यात सेनको १६०औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा सीले यस्तो अभिव्यक्ति दिएका हुन् । सन यात सेनले सन् १९११ को विद्रोहको नेतृत्व गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त विद्रोहले चीनमा शताब्दीयौंदेखि चल्दै आएको सम्राट र साम्राज्ञीको शासन अन्त्य गरी गणतन्त्र चीनको स्थापना गरेको थियो ।
सीले चीन शान्तिपूर्ण पुनः एकीकरण र ‘एक देश, दुई प्रणाली’ को नीतिप्रति प्रतिबद्ध रहेको बताए ।
साथै ‘एक चीन सिद्धान्त’ कायम राख्दै ताइवानसँग वार्ता गर्न चीन तयार रहेको उनको भनाइ थियो । बेइजिङले ‘एक चीन सिद्धान्त’ मार्फत ताइवान जलडमरूमध्यका दुवै क्षेत्र एउटै देशको हिस्सा रहेको दाबी गर्दै आएको छ ।
सीले ताइवानसहित सबै चिनियाँ नागरिकलाई ताइवानको स्वतन्त्रताका पक्षधर शक्तिको विरोध गर्न र दुई किनारबीचको सम्बन्ध शान्तिपूर्ण रूपमा अघि बढाउन एकजुट हुन आह्वान गरे ।
सीले आफ्नो सम्बोधनमा सैन्य बल प्रयोगको विषय नउठाए पनि चीनले ताइवानमाथि बल प्रयोग गर्ने विकल्प भने त्यागेको छैन । चिनियाँ सेनाले दैनिकजसो ताइवान वरपर सैन्य गतिविधि सञ्चालन गर्दै आएको छ भने प्रशान्त महासागर क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिरहेको छ।
ताइवानको रक्षा मन्त्रालयका अनुसार बिहीबार चिनियाँ युद्धपोतसँगै जे–१६ लडाकु विमान र मानवरहित विमानसहित २९ वटा चिनियाँ सैन्य विमान ताइवान वरपर देखिएका थिए । ती विमानले चिनियाँ सेनाको संयुक्त युद्ध तयारी गस्तीअन्तर्गत गतिविधि सञ्चालन गरेका थिए ।
सीको यो अभिव्यक्ति चीनको दक्षिणी प्रविधि केन्द्र सेन्जेनमा आयोजना हुने एसिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको एक साताअघि आएको हो । उक्त सम्मेलनमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पुनः भेटवार्ता गर्ने कार्यक्रम छ ।
यसैबीच ताइवानमा महत्त्वपूर्ण स्थानीय निर्वाचन हुन दुई साताभन्दा केही बढी समय बाँकी छ ।
गत महिना ताइवान सरकारले सन यात सेनको जन्मजयन्तीका अवसरमा चीनले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी नहुन आफ्ना नागरिकलाई आग्रह गरेको थियो । चीनले सन यात सेन र उनको राजनीतिक विरासतलाई गलत ढंगले व्याख्या गरिरहेको ताइवानको आरोप छ ।
चीनले भने सन यात सेनलाई महान् राष्ट्रिय नायक, देशभक्त र सन् १९४९ को कम्युनिस्ट क्रान्तिका अग्रदूतका रूपमा सम्मान गर्दै आएको छ । उक्त क्रान्तिपछि पराजित गणतन्त्र चीनको सरकार ताइवान पलायन भएको थियो । त्यसयता ताइवान छुट्टै शासन व्यवस्थासहित सञ्चालन हुँदै आएको छ ।
सीले सन यात सेनलाई महान् राष्ट्रिय नायक, देशभक्त र चीनको लोकतान्त्रिक क्रान्तिका महान् अग्रदूतका रूपमा व्याख्या गरे ।
उनले सन यात सेनले सधैँ देशको एकता र राष्ट्रिय एकजुटतालाई प्राथमिकता दिएको उल्लेख गर्दै देश वा राष्ट्रलाई विभाजन गर्ने कुनै पनि अभिव्यक्ति र गतिविधिको विरोध गरेको बताए ।
ताइवानमा सन यात सेनलाई आधिकारिक रूपमा ‘राष्ट्रपिता’ मानिन्छ । उनको तस्बिर राष्ट्रपतिको कार्यालयमा समेत राखिएको छ । यद्यपि उनले प्रतिपादन गरेको ‘जनताका तीन सिद्धान्त’ अहिले विद्यालयका विद्यार्थीका लागि अनिवार्य पाठ्यवस्तुका रूपमा राखिएको छैन ।
ताइवानका राष्ट्रपति लाई चिङ ते र उनको सत्तारूढ डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले चीनभन्दा ताइवानको छुट्टै पहिचानलाई जोड दिँदै आएका छन् । तर पछिल्लो समय उनीहरूले गणतन्त्र चीनको ऐतिहासिक भूमिकाबारे बेइजिङसँग थप कडा धारणा राख्न थालेका छन् ।
दोस्रो विश्वयुद्धमा भएको विजयको श्रेय चीनले आफूले लिन खोजेको विषयमा ताइवान विशेष रूपमा असन्तुष्ट छ । त्यसबेला मित्रराष्ट्रहरूसँग मिलेर जापानविरुद्ध युद्ध लड्ने सरकार गणतन्त्र चीनकै भएको ताइवानको भनाइ छ । सन् १९४९ मा स्थापना भएको जनवादी गणतन्त्र चीन दोस्रो विश्वयुद्धका बेला अस्तित्वमै थिएन भन्ने ताइवानको तर्क छ ।
चीनले ताइवानका राष्ट्रपति लाईलाई ‘अलगाववादी’ भन्दै आएको छ र उनीसँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । तर राष्ट्रपति लाईले ताइवानको भविष्यबारे निर्णय गर्ने अधिकार त्यहाँका जनतामा मात्र रहेको बताउँदै आएका छन् ।
–रोयटर्स





















