images
images
  • चौतर्फी घेराबन्दीमा एनभिडियाका सीईओ हुआङ, बाहिरियो चिनियाँ युवतीपछि कर्मचारी पावेलसँगको प्रेम सम्बन्ध

    काठमाडौं– अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङको दोस्रो विवाहेतर सम्बन्धबारे खबर सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । द न्यूयोर्क टाइम्सको रिपोर्टपछि बिहीबार कम्पनीको सेयरमा गिरावट देखिएको हो ।

    बीबीसीका व्यवसाय संवाददाता ओसमन्ड चियाका अनुसार यस घटनापछि एनभिडियाको बजार पुँजीकरण आधा ट्रिलियन अमेरिकी डलरभन्दा बढीले घटेको छ । यता प्रतिस्पर्धी कम्पनी एएमडीको सेयर मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ ।

    एनभिडियाकी कर्मचारी किम्बर्ली पावेलसँग हुआङको सम्बन्ध रहेको खबर सार्वजनिक भएपछि उनको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ । पावेल कम्पनीको स्वास्थ्य सेवा क्षेत्रकी उपाध्यक्ष हुन् ।

    बीबीसीकी उत्तर अमेरिका प्रविधि संवाददाता लिली जमालीका अनुसार हुआङ र पावेलबीचको भनिएको सम्बन्ध सन् २००७ देखि नै चलिरहेको थियो । यस विषयमा एनभिडियाले स्वतन्त्र छानबिन सुरु गरेको छ ।

    यसअघि पनि हुआङको अर्की एक महिलासँग सम्बन्ध रहेको खबर सार्वजनिक भएको थियो । ती महिलामाथि चिनियाँ जासुस भएको आरोपसमेत लागेको थियो ।

    हुआङले आफ्नी पत्नीसँग बेइमानी गरेको स्वीकार गर्दै त्यसबाट पत्नी र छोराछोरीलाई पुगेको पीडाप्रति माफी मागेका छन् ।

    एप्पलपछि विश्वकै दोस्रो ठूलो मूल्यवान् कम्पनीका रूपमा रहेको एनभिडियाको सेयर मूल्य ८ प्रतिशतसम्म घटेको छ । विश्वकै प्रमुख चिप निर्माता कम्पनीमध्ये एक एनभिडिया कृत्रिम बुद्धिमता (एआई) प्रविधिका लागि आवश्यक हार्डवेयर उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । हुआङ तीन दशकभन्दा लामो समयदेखि कम्पनीको नेतृत्वमा छन् ।

    दोस्रो सम्बन्धको आरोप बोर्डका लागि चुनौती

    बीबीसीकी अमेरिकी प्रविधि संवाददाता काली हेजका अनुसार एनभिडियाको सञ्चालक समितिले बिहीबार हुआङलाई सीईओ पदबाट हटाउने विषयमा छलफल गर्न बैठक गर्ने तयारी गरेको छ ।

    द वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सका रिपोर्टअनुसार चिप निर्माता कम्पनी एनभिडिया लामो समयदेखि नेतृत्व गर्दै आएका हुआङसँग जोडिएका दुईवटा विवाहेतर सम्बन्धका खबरबाट दबाबमा परेको छ ।

    पहिलो सम्बन्धको खबर सार्वजनिक हुँदा पनि प्रविधि क्षेत्रले त्यसलाई हुआङले सामना गर्न सक्ने व्यक्तिगत विषयका रूपमा लिएको थियो । तर दोस्रो सम्बन्धको आरोपलाई कम्पनीको सञ्चालक समितिले बेवास्ता गर्न कठिन हुने देखिएको छ ।

    यद्यपि दोस्रो सम्बन्धबारेका आरोप पुष्टि भइसकेका छैनन् । कम्पनीकै एक कर्मचारीसँग सम्बन्ध रहेको आरोपले भने नेतृत्वमाथि थप प्रश्न उठाएको छ ।

    प्रविधि उद्योगसँग सम्बन्धित एक जानकारले बुधबार बीबीसीसँग भनेका छन्, ‘अब उनको पद जोगिन कठिन देखिन्छ ।’

    पहिलो घटनामा हुआङले आफूलाई ती महिला चीनको राजधानी बेइजिङलाई सूचना उपलब्ध गराउने सम्भावित व्यक्ति भएको जानकारी नरहेको बताउँदै आएका थिए । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कुराकानीमा पनि उनले यही कुरा दोहोर्‍याएका थिए ।

    एनभिडियाको सफलतामा हुआङको महत्त्वपूर्ण योगदान रहेको मानिन्छ । उनी कम्पनीका सहसंस्थापकमध्ये एक हुन् ।

    एनभिडिया एआई उपकरण र ठूला भाषिक मोडेल सञ्चालन गर्न आवश्यक कम्प्युटर चिप उत्पादन गर्ने विश्वकै अग्रणी कम्पनीमध्ये एक हो ।

    के हुआङले कम्पनीको आचारसंहिता उल्लंघन गरे ?

    Jensen Huang

    बीबीसीका व्यवसाय संवाददाता ओसमन्ड चियाका अनुसार एनभिडियाको आचारसंहिताले कर्मचारीलाई आफ्नो कामका कारण स्वार्थको द्वन्द्व सिर्जना हुनसक्ने अवस्थाबाट टाढा रहन सुझाव दिएको छ ।

    यसमा व्यक्तिगत सम्बन्धबाट उत्पन्न हुनसक्ने स्वार्थको द्वन्द्वसमेत समेटिएको छ । कम्पनीले गलत आचरणसम्बन्धी उजुरी प्राप्त भएमा तत्काल छानबिन गर्ने बताउँदै आएको छ ।

    हुआङले यसअघि कम्पनीको आचारसंहितासम्बन्धी एक सन्देशमा कर्मचारीबाट एनभिडियाका मूल्य, मान्यता र नैतिक मापदण्डको पालना अपेक्षा गरिने बताएका थिए ।

    आइतबार कर्मचारीलाई पठाएको सन्देशमा उनले विवाहेतर सम्बन्ध रहेको स्वीकार गर्दै माफी मागेका थिए ।

    उनले लेखेका छन्, ‘मैले आफ्नी पत्नीसँग बेइमानी गरेँ । मेरो यस कदमले उनलाई र हाम्रा छोराछोरीलाई दुःख पुग्यो । मैले गरेको कामको कुनै बहाना छैन । मलाई यसप्रति गहिरो पछुतो छ ।’

    हुआङलाई एलन मस्कको जागिर प्रस्ताव

    हुआङको भविष्यबारे चर्चा भइरहेका बेला अमेरिकी अर्बपति एलन मस्कले उनलाई आफ्नो कम्पनीमा जागिर दिन पाउनु सम्मानको विषय हुने बताएका छन् ।

    मस्कले आफ्नो सामाजिक सञ्जाल एक्समा वित्तीय समाचार साझा गर्ने जिरोहजको पोस्टको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

    अर्को पोस्टमा एआई क्षेत्रमा लगानी गर्दै आएका गेभिन बेकरले एनभिडियाको सञ्चालक समितिले स्वतन्त्र छानबिनको नतिजा नआएसम्म हुआङलाई हटाउने निर्णय गर्न नहुने बताएका थिए । त्यसमा मस्कले समर्थन जनाउँदै ‘१००’ इमोजी पोस्ट गरेका थिए ।

    हुआङकै नेतृत्वमा एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको एआई कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो ।

    अक्टोबर २०२५ मा सीएनबीसीसँगको कुराकानीमा हुआङले भनेका थिए, ‘मलाई एउटा कुराको मात्रै पछुतो छ । मैले उनलाई अझ बढी पैसा लगानी गर्न दिइनँ ।’

    उनले मस्क संलग्न भएका लगभग सबै काममा आफूहरू सहभागी हुन चाहनेसमेत बताएका थिए ।

    यो घटनाले किन पार्न सक्छ ठूलो प्रभाव ?

    बीबीसीकी उत्तर अमेरिका संवाददाता शाइमा खलीलका अनुसार विश्वका विभिन्न देशका नेताहरूसँग पहुँच राख्ने प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तित्वमध्ये हुआङ एक हुन् । कम्पनीको सफलतामा उनको भूमिका कति महत्त्वपूर्ण छ भन्नेबारे आममानिसलाई पर्याप्त जानकारी नहुन सक्छ ।

    धेरैले उनलाई उनको पहिचान बनेको छालाको ज्याकेटबाट चिन्न सक्छन् । तर विश्वभरका लाखौं मानिसको पेन्सन तथा लगानी कोषमार्फत एनभिडियामा पैसा लगानी भएको छ । कतिपय लगानीकर्तालाई आफ्नो बचत कम्पनीमा लगानी भएको जानकारीसमेत नहुन सक्छ ।

    त्यसैले कम्पनीको सेयर मूल्यमा आएको ठूलो गिरावटले सर्वसाधारणको बचत र लगानीमा समेत असर पार्न सक्छ ।

    हुआङलाई पदबाट हटाउन सकिने सम्भावनासम्बन्धी खबर सार्वजनिक भएपछि बजार बन्दपछिको कारोबारमा एनभिडियाको सेयर मूल्य करिब आठ प्रतिशतले घटेको थियो । अर्कोतर्फ प्रतिस्पर्धी कम्पनी एएमडीको सेयरमा भने २१ प्रतिशतसम्म वृद्धि भएको उल्लेख गरिएको छ ।

    यस घटनाले समग्र एआई उद्योगमा पनि प्रभाव पार्न सक्छ । एआई प्रणाली निर्माणमा ठूलो रकम खर्च गरिरहेका कम्पनीहरू एनभिडियाका चिपमा निर्भर छन् । उनीहरूलाई चिपको आपूर्ति, नयाँ उत्पादन र यसअघि गरिएका व्यावसायिक प्रतिबद्धता पूरा हुने विषयमा सुनिश्चितता चाहिन्छ ।

    एनभिडियाका इन्जिनियर, प्रविधि र विशेषज्ञता कम्पनीमै रहने भए पनि हुआङ जस्तो प्रभावशाली नेतृत्वकर्ताको स्थानमा अर्को व्यक्ति ल्याउनु ठूलो चुनौती हुन सक्छ ।

    एनभिडियामा देखिएको नेतृत्वसम्बन्धी अनिश्चितताबाट प्रतिस्पर्धी एएमडीले तत्काल फाइदा उठाउन सक्ने देखिएको छ। एएमडी ग्राफिक्स प्रोसेसर तथा ठूला डेटा सेन्टरका लागि आवश्यक एआई चिपको बजारमा एनभिडियाको प्रतिस्पर्धी हो । यद्यपि कम्पनीको आकार अझै पनि एनभिडियाको तुलनामा निकै सानो छ ।

    एनभिडिया किन यति महत्त्वपूर्ण छ ?

    एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् सेयर बजारमा सूचीकृत कम्पनीमध्ये एक हो । यसको बजार मूल्य करिब ४.५ ट्रिलियन अमेरिकी डलर रहेको उल्लेख छ । यो भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) करिब चार ट्रिलियन डलरभन्दा पनि बढी हो ।

    कम्पनी उन्नत प्रविधिका कम्प्युटर चिप उत्पादन गर्ने विश्वकै प्रमुख उत्पादकमध्ये एक हो । यसले उत्पादन गर्ने चिप भिडियो गेम, चालकविहीन सवारीसाधन, ठूला डेटा सेन्टर तथा क्लाउड सर्भरलगायत विभिन्न प्रविधिमा प्रयोग हुन्छन् ।

    तर पछिल्लो समय ती चिपको सबैभन्दा ठूलो माग एआई प्रविधिको विकाससँग जोडिएको छ । ठूला भाषिक मोडेल (लार्ज ल्याङ्ग्वेज मोडेल) र जेनेरेटिभ एआई प्रणाली सञ्चालन गर्न एनभिडियाका चिपको महत्त्वपूर्ण भूमिका छ ।

    शक्तिशाली एआई प्रणाली निर्माण गर्ने प्रतिस्पर्धामा अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी चीन हो । यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेरिकी सरकारले सन् २०२२ देखि एनभिडियाका सबैभन्दा उन्नत चिप चीन निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

    अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यस्तो प्रतिबन्ध लगाएको हो । उन्नत चिप चीनमा निर्यात गर्दा त्यहाँको सैन्य क्षमता थप बलियो हुन सक्ने अमेरिकी पक्षको तर्क छ । यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा केही प्रतिबन्ध खुकुलो बनाइएको छ ।

    -एजेन्सीहरु

    प्रतिक्रिया दिनुहोस्
    images
    images