काठमाडौं– सात पटकका फर्मुला वान (एफवान) विश्व च्याम्पियन लुइस ह्यामिल्टनले गाजालाई ‘खुला जेल’ को संज्ञा दिएका छन् । मानवीय सहायता सामग्री गाजासम्म पुर्याउन भइरहेका प्रयासबारे प्रत्यक्ष जानकारी लिन उनी मंगलबार इजिप्टतर्फको राफाह सीमा नाकामा पुगेका थिए ।
भ्रमणपछि बुधबार सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै ह्यामिल्टनले गाजामा विगत तीन वर्षदेखि जारी इजरायली नरसंहार भयावह रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘मानिसहरूलाई स्वतन्त्रता, सुरक्षा र सम्मानबाट वञ्चित गर्नु अन्याय हो । कुनै पनि मानिसको जीवन अरूको भन्दा कम महत्त्वपूर्ण ठानिनु हुँदैन ।”
ह्यामिल्टनले प्यालेस्टिनीहरूलाई बाहिर निस्कन नदिने गरी माइलौंसम्म पर्खाल लगाइएको आफूले देखेको बताए ।
उनले भनेका छन्, ‘त्यहाँ उभिँदा खुला जेल बाहिर रहेको अनुभूति भयो । त्यसबेला मेरो मनमा उनीहरूलाई सहयोग गर्न कसरी भित्र पुग्ने भन्ने कुरामात्रै आइरहेको थियो ।’
राफाह सीमा नाकामा गाजाका लागि खाद्यान्न बोकेका ट्रकहरू प्रवेशको प्रतीक्षामा लामबद्ध रहेको आफूले देखेको उनले उल्लेख गरेका छन् । तर ती ट्रकलाई नियमित रूपमा प्रवेश अनुमति नदिइने वा लामो समयसम्म रोकेर राख्ने गरिएको उनको भनाइ छ ।
उनले लाइनमा रहेका एक ट्रक चालकसँग कुरा गर्दा ती चालक १२ घण्टाभन्दा बढी समयदेखि प्रतीक्षामा रहेको बताएका छन् ।
सीमा नजिकै रहेको रसद व्यवस्थापन केन्द्रको भ्रमणका क्रममा उनले मानवीय सहायता कार्यकर्ताहरूले गरिरहेको प्रयासको प्रशंसा गरे । तर सामान्य कारण देखाउँदै विभिन्न राहत सामग्रीसमेत अस्वीकार गरिएको देख्दा आफू आश्चर्यचकित भएको उनले बताए ।
उनका अनुसार सुत्ने झोला, प्राथमिक उपचार सामग्री, स्वास्थ्य उपकरण, ह्विलचेयर र बालबालिकाका लागि फुटबलसमेत प्रवेश अनुमति नपाएका सामग्रीमा थिए ।
ह्यामिल्टनले युद्धविराम सम्झौताअनुसार आफ्ना दायित्व पूरा गर्दै इजरायलले सहायता सामग्री बोकेका ट्रकलाई गाजामा प्रवेश दिनुपर्ने बताएका छन् ।
‘यसमा कुनै पनि बहाना स्वीकार्य हुन सक्दैन’, उनले उल्लेख गरेका छन् । उनले गाजाका नागरिकको पीडा देखेर असहाय महसुस गर्ने मानिसहरू धेरै रहेको पनि बताएका छन् ।
‘मलाई थाहा छ, धेरै मानिसले यस्तै असहायपन महसुस गरिरहेका छन् । केवल हेरेर बस्नुभन्दा केही गर्न पाए हुन्थ्यो भन्ने चाहना उनीहरूमा छ । म उनीहरूको पीडालाई सामान्य रूपमा लिन थालियोस् भन्ने चाहन्नँ । उनीहरूको अवस्थाबाट हामीले आँखा चिम्लिनु हुँदैन’, ह्यामिल्टनले भनेका छन् ।
एजेन्सी





















