images
images
  • इरानी राष्ट्रपति र ब्राजिलका राष्ट्रपतिबीच टर्किएमा भेट, स्वतन्त्र देशहरूबीचको बहुपक्षीय सहकार्यमा जोड

    काठमाडौं– इरानका राष्ट्रपति मसुद पेजेस्कियानले टर्किएमा जारी कोप–३१ जलवायु सम्मेलनका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँग भेटवार्ता गरेका छन् ।

    इरानी राष्ट्रपतिको कार्यालयका अनुसार भेटमा दुई देशबीच आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको थियो । विशेषगरी निजी क्षेत्रबीच सहकार्य बढाउने तथा विज्ञान, प्रविधि र कृषिका क्षेत्रमा साझेदारी गर्ने विषयमा दुवै नेताले चासो व्यक्त गरेका थिए ।

    भेटका क्रममा उनीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि विचार आदानप्रदान गरेका थिए । दुवै नेताले संवाद, राष्ट्रिय सार्वभौमिकताको सम्मान र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

    त्यसैगरी ‘स्वतन्त्र देशहरू’ बीचको बहुपक्षीय सहकार्यले अझ न्यायपूर्ण अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न सहयोग पुग्ने दुवै पक्षको धारणा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार राष्ट्रपति पेजेस्कियानले हालै पुनः ब्राजिलको राष्ट्रपतिमा निर्वाचित भएका लुलालाई बधाईसमेत दिएका थिए ।

    यसैबीच राष्ट्रपति पेजेस्कियानले आर्थिक रूपमा इरानलाई एक्ल्याउन शत्रुहरू असफल हुने दाबी गरेका छन् ।

    दबाब र प्रतिबन्धसामु आफ्नो देश नझुक्ने बताउँदै उनले आन्तरिक क्षमताको उपयोग गर्दै इरानले आर्थिक समस्या समाधान गर्ने पनि बताएका छन् ।

    टर्किएमा जारी कोप–३१ जलवायु सम्मेलनका क्रममा इराकको कुर्दिस्तान क्षेत्रका राष्ट्रपति नेचिरभान बार्जानीसँगको भेटमा पेजेस्कियानले इरानमाथि लगाइएका दबाब, प्रतिबन्ध र विभिन्न क्षतिले त्यहाँका जनताको इच्छाशक्तिलाई कमजोर बनाउन नसकेको बताए ।

    इरानका छिमेकी तथा मित्रराष्ट्रसँग राम्रो सम्बन्ध रहेकाले शत्रुहरूले आफ्नो देशलाई आर्थिक रूपमा एक्ल्याउन नसक्ने उनको भनाइ थियो ।

    उनले विशेषगरी कुर्दिस्तान क्षेत्रका जनतालाई इरानको असल मित्रका रूपमा उल्लेख गरे ।

    पेजेस्कियानले आधारभूत उपभोग्य वस्तुको आपूर्ति हुने मार्गमा अवरोध सिर्जना गरेर इरानी जनताको जीविकोपार्जनमा असर पुर्‍याउने प्रयास भइरहेको आरोप लगाए ।

    खाद्यान्न र औषधि आपूर्ति गर्ने मार्गसमेत बन्द गर्न क्षेत्रका केही देशमाथि दबाब दिइएको उनको दाबी थियो ।

    उनले केही देशका नेताहरूले जस्तो इरानका नेता र जनताले कसैको दबाब तथा धम्कीका सामु आत्मसमर्पण नगर्ने स्पष्ट पारे ।

    पेजेस्कियानले कुर्दिस्तान क्षेत्रसँग विशेषगरी व्यापारसहित सबै क्षेत्रमा सम्बन्ध थप मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा राष्ट्रपति बार्जानीले इरानसँग आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्न कुर्दिस्तान क्षेत्र तयार रहेको बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images