काठमाडौं – कपिलवस्तु नगरपालिकाका पूर्वनगर प्रमुख रामदास गुप्तको निधनमा जिल्लाका पाँच स्थानीय तहले शुक्रबार शोक बिदा दिएका छन् । कपिलवस्तु, महाराजगन्ज र कृष्णनगर नगरपालिका तथा यशोधरा र मायादेवी गाउँपालिकाले शोक बिदा दिएका हुन् । सम्बन्धित स्थानीय तहका प्रमुख तथा अध्यक्षले शोक विज्ञप्ति जारी गर्दै गुप्तको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनीहरूले जिल्लाले विकासप्रेमी र असल अभिभावक गुमाएको उल्लेख गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
गुप्तको निधनले अपूरणीय क्षति पुगेको र उनको अभाव सधैँ खड्किरहने शोक विज्ञप्तिमा उल्लेख छ । शोक बिदाका अवसरमा पाँचवटै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक) तथा सामुदायिक, संस्थागत र धार्मिक शिक्षण संस्था बन्द रहने जनाइएको छ ।
२०२७ सालदेखि राजनीतिमा सक्रिय गुप्तले २५ वर्षभन्दा बढी समय कपिलवस्तु नगरपालिकाको नेतृत्व गरेका थिए । २०३९ सालमा तौलिहवा नगर पञ्चायत स्थापना भएपछि उनी नगरप्रमुखमा निर्वाचित भएका थिए । २०४३ सालमा पनि नगर पञ्चायतको नगरप्रमुखमा निर्वाचित भएका गुप्त २०४८ र २०५४ सालमा कपिलवस्तु नगरपालिकाको नगरप्रमुख बनेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी मेयर पदका उम्मेदवार बनेका थिए, तर पराजित भएका थिए ।
लामो समयदेखि मधुमेह, उच्च रक्तचापलगायत स्वास्थ्य समस्याबाट पीडित ८२ वर्षीय गुप्तको बिहीबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो । कपिलवस्तु नगरपालिका–२ जमुहावारस्थित निवासमा उनको निधन भएको छोरा अखिलेश गुप्तले जानकारी दिए । गुप्तको दाहसंस्कार शुक्रबार गरिने परिवारले जनाएको छ ।





















