काठमाडौं– अहिले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की गम्भीर मोडमा छन् । एकातर्फ युद्धविरामको प्रयास उनले गरेका छन् भने अर्कोतर्फ रुसी आक्रमणमा कमी आएको छैन ।
अहिले धेरै युक्रेनीहरूलाई समस्याको चाङ नै छ । यसरी समस्यासँग जुधेर जसोतसो सामना गर्नेमा दुई सन्तानकी एकल अभिभावक डार्यना कुल्चेत्सोभा पनि हुन् । युद्ध रहेसम्म जीवन कसरी धान्ने भन्ने चिन्ता उनलाई छ ।
तर यसको मतलब यो होइन कि युद्धकालीन समयमा बालबालिकाको अध्ययन ठप्प होस् । युद्धको सामना गर्दै बालबालिकाको अध्ययनलाई निरन्तरता दिनु उनीहरूको दायित्व हो ।
तथापि यसमा पनि समय-समयमा रुसले ऊर्जा क्षेत्रमा आक्रमण गरेपछि उनीहरू अन्धकारमा बस्नुपर्ने बाध्यता छ । यसकै असर सहेर डार्यनाले पनि आफ्ना सन्तानका लागि आफूलाई समर्पित गरिरहेकी छन् ।
यो उनी एक जनाको समस्या होइन । यस किसिमको समस्या बिताउने धेरै जना छन् । यसै समस्याको बीचमा पनि शान्ति वार्ता भइरहेको छ ।
अहिले युद्धसँगै शान्तिको प्रयास पनि भइरहेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अहिले आयरल्यान्डको डब्लिनमा छन् । डब्लिनमै जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कोफ र जारेड कुशनरसँग भेट गरे । युरोपेली राजनीतिक समुदाय (ईपीसी) शिखर सम्मेलनमा सहभागिता जनाउन डब्लिन पुगेका जेलेन्स्कीले सोही स्थानमा भेट गरेका हुन् ।

४५ भन्दा बढी देशका नेताहरू सहभागी भएको शिखर सम्मेलनमा विशेष सहभागिता जनाउन दुवै अमेरिकी विशेष दूत रुसको राजधानी मस्कोबाट बिहीबार दिउँसो आयरल्यान्ड पुगेका छन् । डब्लिन जानुअघि उनीहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका थिए । त्यसपछि युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अबुधाबीमा दुई दिनसम्म भएका वार्ताबारे जेलेन्स्कीलाई जानकारी गराए ।
यस वार्ता जारी रहँदा युक्रेनी नागरिकको दुःख बयान गरेर साध्य छैन । युक्रेनमा ऊर्जाको सङ्कट भइरहेको समयमा अहिले कुनै परिवारको सदस्यले २० घण्टासम्म पनि उज्यालो देख्न पाएका छैनन् ।
अहिले रुस र युक्रेन दुवैले नयाँ रणनीति लिएका छन् । युक्रेनले तेल खानीमा निसाना बनाउने प्रयास गरेको छ । रुसले जाडो बढिरहेको समयमा युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण गर्ने नीति लिएको छ । आममानिसहरू कठ्याङ्ग्रिएर बसेका छन् ।

अहिले युक्रेनमा मेट्रो रेल र ट्रली बसको व्यवस्था नभएको होइन । यी सबै त्यहाँ निरर्थक झैँ देखिएका छन् । त्यहाँको टर्बाइन नास भएका छन् । पाइपहरू फुटेका छन् । धेरै साइटहरू काम नलाग्ने अवस्थामा छन् ।
पावर सेन्टरमा कार्यरत भालादोमिर कोभालेन्कोको अनुसार अहिले रुसले गरेको आक्रमण एकदमै डरलाग्दो र भयानक छ । युक्रेनका धेरै ऊर्जा केन्द्र लामो समय काम नलाग्ने अवस्थामा छन् । यसलाई बनाउन मजदुरहरू युद्धस्तरमा काम गरिरहेका छन् । धेरैजसो त उनीहरू साइरन बजेपछि भागेर सुरक्षित अवस्थामा पनि पुग्न पाउँदैनन् । काम गरिरहेको साइटको चिम्नीमा नै धेरैले आफूलाई राख्ने गरेका छन् ।
सबैभन्दा जोखिमपूर्ण काम

रुसले युक्रेनमा आक्रमण सुरु गरेको ५ वर्ष हुन लागिसकेको छ । फेब्रुअरी महिनामा ५ वर्ष पूरा हुनेछ । पछिल्लो केही समययता भने रुसले ऊर्जा केन्द्रमा निसाना बनाएको छ । यसरी निसाना बनाएपछि यस क्षेत्रमा काम गर्ने धेरै जनाले आफ्नो ज्यान गुमाए । अगस्ट महिनादेखि नै रुसले ऊर्जा क्षेत्रलाई निसाना बनाएको हो ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की युक्रेनसँग वैकल्पिक स्रोत भएको र यस समस्या समाधान गर्न सक्षम भएको दाबी गर्छन् । तर युक्रेनका ऊर्जाविद् भने यो मान्न तयार छैनन् ।
युक्रेनको निजी क्षेत्रको सबैभन्दा ठुलो ऊर्जा केन्द्र डिटकका कार्यकारी प्रमुख म्याक्सिम टिमचेन्को भने गत वर्षभन्दा रुसले ऊर्जा क्षेत्रमा अत्याधुनिक हतियार प्रयोग गरेको बताउँछन् । यो वर्ष प्रयोग भएका हतियार बढी वैज्ञानिक र धेरै शक्तिशाली रहेको उनको ठहर छ ।
रुसले अहिले थर्मल पावर प्लान्ट र न्युक्लियर पावर प्लान्टमा नै आक्रमण गरेको छ । अक्टोबर ८ का दिन रुसले खेमेटनेभेस्की र रिभाइन आणविक ऊर्जा केन्द्रमा आक्रमण गरेको थियो ।
इन्टरनेशनल अटोमेटिक इनर्जी एजेन्सीले पनि सामाजिक सञ्जालमार्फत विद्युत् उत्पादनमा नै कमी ल्याउनुपर्ने बाध्यता आइसकेको बताएको छ । संसारमा नै आणविक ऊर्जामा युक्रेन अग्रणी देशको रूपमा रहेको थियो । धेरै विश्लेषकहरूका अनुसार अहिले ऊर्जा केन्द्रमा आक्रमण गरिनुको मूल कारण आममानिसलाई समस्यामा पार्न मात्र होइन, जुनसुकै समय वार्तामा युक्रेनलाई गलाउनु पनि हो ।

विज्ञहरूका अनुसार रुसले बढी उत्पादन हुने प्लान्टहलाई निसाना बनाएको छ । रुसले सबैभन्दा बढी उत्पादन क्षमता भएकोमध्येकै एक ट्रिपिल्सकामा आक्रमण गर्नुले यो कुरा प्रमाणित भएको छ ।
ऊर्जाविज्ञ भिक्टोरिया भोभिटिस्का यस वर्ष अझ कठिन हुने बताउँछिन् । तथापि उनले भने जस्तो खराब अवस्था आउँछ नै भन्ने छैन ।
अबका केही दिनमा केही कुरा प्रस्ट हुनेछन् । अमेरिकी विशेष दूतले अबुधाबीमा रुसी प्रतिनिधिमण्डलसँग गरेको भेटको अर्थ खुल्नेछ । अमेरिकामा भएको संसदीय निर्वाचनले युक्रेनप्रति लचिलो शक्तिलाई काँग्रेसमा पकड दिलाएको छ । यसको मतलब यो होइन कि संसद्ले चाहे जस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चल्नेछन् ।
हरेक युद्ध पीडादायी हुन्छ नै । पीडादायक हजारौं घटना युद्धमा हुन्छन् । अहिले युद्धविराम नभए यस वर्षको जाडोमा युक्रेनीले फेरि अर्को कठिन समय पार गर्नुपर्ने छ ।
-बीबीसी, युरो न्युज र डीडब्ल्यूलगायतको सहयोगमा


मनोज घिमिरे 




















