images
images
  • हर्डल्समा नयाँ इतिहास लेखिएको वर्ष

    काठमाडौं– मसाई रसेलले १०० मिटर हर्डल्समा विश्व कीर्तिमान कायम गरिन् । यस वर्षको एउटा महत्त्वपूर्ण खेल घटना यही हो । हामी वर्षको अन्त्यमा आइपुगेका छौं। यसबीचमा हाम्रो चासो वर्षभरि भएका उत्कृष्ट प्रदर्शनकै हो ।

    यस वर्ष धेरै यादगार प्रदर्शन भए । धेरै इतिहास लेखिए । यसरी लेखिएका इतिहासको चर्चा लामो समयसम्म हुने नै छ । वर्षको सबैभन्दा प्रमुख खेल फुटबलको सवालमा बालोन डी’ओर अवार्डको छिनोफानो भइसकेको छ ।

    अहिलेको चर्चा भने ट्र्याक एन्ड फिल्डको हो । नोभेम्बर २९ का दिन यस वर्षको उत्कृष्ट एथलेटिक्स खेलाडीको घोषणा हुनेछ । यसका लागि हरेक विधामा ३ जनाको नाम सर्टलिस्टमा राखिएको छ । यसअघि १० जना मनोनयनमा परे पनि यसै साता ३ जनामात्र राखिएको हो । मोनाकोमा वर्ल्ड एथलेटिक्सले कार्यक्रमको आयोजना गर्दै उत्कृष्ट खेलाडीको घोषणा गर्नेछ ।

    पुरुषतर्फ ब्राजिलका एलिसन डोस सान्टोस, स्विडेनका मोन्डे डु प्लान्टिस र केन्याका सेबास्टिन सावे अन्तिम ३ मा छन् ।

    यस वर्ष पनि मनोनयनमा परेका प्लान्टिसले विश्व इन्डोर च्याम्पियनसिप, युरोपियन च्याम्पियनसिप र अल्टिमेट विश्व च्याम्पियनसिपको उपाधि जितेका थिए । यस क्रममा उनले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भङ्ग गर्दै ६.३१ मिटरको नयाँ कीर्तिमान पनि कायम गरेका थिए ।

    alison dos santos
    एलिसन डोस सान्टोस

    ब्राजिलका सान्टोसले ४०० मिटर हर्डल्समा ४५.८० सेकेन्डको नयाँ विश्व कीर्तिमान कायम गरे । अल्टिमेट उपाधि जितेका उनले डायमन्ड लिगसहित यो वर्ष अपराजित रहेर ११ सफलता पाए ।

    सावेले १ घण्टा ५९ मिनेट ३० सेकेन्डको विश्व कीर्तिमान कायम गर्दै लन्डन म्याराथनको उपाधि जितेका थिए । उनले यस कीर्तिमान कायम गर्नु अघिसम्म म्याराथनमा २ घण्टाको समय भन्दा कममा दुरी पूरा गर्नु करिब असम्भव झैँ मानिएको थियो ।

    शीर्ष १० मा परेर पनि शीर्ष ३ मा अटाउन नसक्ने खेलाडीमा बेलायतका जोस कर, अमेरिकाका ज्याकब थर्प र केनेथ बन्डरनायक रहेका छन् । यसैगरी बोत्सवनाका कुलेन केबिनाटसिपी, श्रीलङ्काका रमेश थरङ्गा, इटालीका एन्डी डायज र स्लोभानियाका क्रिस्चियन चे छन् ।

    पुरुषतर्फ अमेरिकाको कोही पनि शीर्ष ३ मा नरहे पनि महिलातर्फ भने दुई अमेरिकी सर्टलिस्टमा छन् । १२.०९ सेकेन्डका नयाँ विश्व कीर्तिमानसहित १०० मिटर हर्डल्समा सनसनी फैलाएकी रसेल ३ जनामा अटाउन सफल भएकी छन् ।

    masai russell
    मसाई रसेल

    यस वर्ष हर्डल्समा अपराजित रहेकी उनले यस क्रममा डायमन्ड लिग र अल्टिमेट विश्व च्याम्पियनसिपको उपाधि पनि आफ्नो नाममा लेखाएकी थिइन् ।

    उत्कृष्ट युरोपियन खेलाडी घोषित स्वीजरल्यान्डकी आन्द्रे वेर विश्वकै उत्कृष्ट खेलाडीको सूचीमा पनि आफूलाई सूचीकृत गर्न सफल भएकी छन् । उनले ८०० मिटर दौडमा युरोपियन, डायमन्ड लिग र विश्व अल्टिमेट च्याम्पियनसिपको उपाधि हात पारेकी हुन् । उनले डायमन्ड लिगको कीर्तिमान ३ पटक भङ्ग गरेकी थिइन् ।

    नयाँ स्प्रिन्ट स्टारको रूपमा भने मेलिसा जेफरसन उडको उदय भएको छ । उनले यस वर्ष दुर्लभ मानिने स्प्रिन्ट डबलको सफलता अल्टिमेट विश्व च्याम्पियनसिपमा कायम गरेकी थिइन् । उनले १०० मिटर दौड १०.६२ सेकेन्डमा पूरा गरिन् । यस वर्षको सबैभन्दा छोटो समय नै यही हो । उनले २०० मिटर २१.४७ सेकेन्डमा पूरा गरिन् । सो समय अहिलेसम्मकै तेस्रो उत्कृष्ट हो ।

    अन्तिम १० मा परेर ३ मा पर्न असफल इथियोपियाकी टिगसेट असफा, डोमिनिक गणतन्त्रकी मारिलियड पाउलिनो, केन्याकी आग्नेस, एनगेटिक, अमेरिकी चेज ज्याक्सन, चीनकी यान जीयी, स्पेनकी मारिया पेरेज र क्यानडाका क्यामरिन रोजर्स छन् ।

    सान्टोसका प्रशिक्षक फिलिप डे कवेन्टेरा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा पनि परे । रसेलका प्रशिक्षक बहमासका रोनाल्डो लुनी ग्रिन पनि मनोनयनमा परेका छन् । सर्टलिस्टमा पर्ने अर्का प्रशिक्षक जिम्बाबेका केन हार्डेन हुन् । उनी हर्डल्सका विश्व कीर्तिमानधारी थार्पका प्रशिक्षक हुन् ।

    Lonnie Greene
    रोनाल्डो लुनी ग्रिन

    महिलाको शीर्ष १० मा अटाएकी यान जीयी राइजिङ स्टारको मनोनयनमा परेकी छन् । उनको प्रतिस्पर्धा युवा अमेरिकी मिया म्याक्सवेल र इथियोपियाकी मार्टा अलामायासँग हुनेछ । अलामाया यू-२० क्रस कन्ट्री च्याम्पियन हुन् । म्याक्सवेल यू-२० १०० र २०० मिटरकी च्याम्पियन हुन् ।

    युवा विश्व च्याम्पियनसिप महिलामात्र होइन, पुरुषतर्फको उपाधि पनि अमेरिकाले जितेको थियो । १०० र २०० मिटर दौडको उपाधिसहित रिलेमा पनि अमेरिकालाई सफलता दिलाएका टेट टेलर पुरुषतर्फ राइजिङ खेलाडी घोषित भए ।

    यस वर्षका अर्का नाम चलेका स्टार भने अमेरिकाका कोपर लुत्केनहाउस हुन् । विश्व इन्डोर ८०० मिटरमा सफलता पाएपछि उनी सबैभन्दा कम उमेरमा विश्व च्याम्पियन हुने एथलेटिक्स खेलाडीको कीर्तिमान कायम गर्न सफल भए । केन्याका एमानुएल किप्रोले यू-२० विश्व च्याम्पियनसिपमा ३००० मिटर दौडको उपाधि जिते ।

    यी सबै सूचीबाट उत्कृष्ट हुने खेलाडीको छिनोफानो अबको दुई सातापछि लाग्नेछ । एउटा सत्य के हो भने विश्व खेलकुदको स्प्रिन्ट विधामा अमेरिकाको साख फर्किएको छ । १०० र २०० मिटर दौडमा अमेरिका बेजोड रूपमा फेरि शक्तिको रूपमा उदायो ।

    केही हर्डल्स स्टारको उदय यस वर्षको खेलकुदको मुख्य पाटो बनेको छ । यसैकारण ३ हर्डल्स प्रशिक्षक सर्टलिस्टमा परेका छन् । सन् २०२६ हर्डल्समा नयाँ युग सुरु भएको वर्ष पनि हो ।

    -वर्ल्ड एथलेटिक्स, ट्र्याक एन्ड फिल्ड ओआरजीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images