images
images
  • पोखरा बन्यो एनपीएल तेस्रो सिजनबाट बाहिरिने पहिलो टोली

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणअन्तर्गत आज भएको खेलमा विराटनगर किङ्ससँग चार विकेटको हार भोगेपछि पोखरा एभेन्जर्स पूरै प्रतियोगिताबाट बाहिरिएको छ ।

    आजको हारपछि पोखरा प्लेअफ दौडबाट बाहिरिएको छ । उसले ६ खेलमध्ये पाँचमा पराजय र एक खेलमा मात्र जित निकालेको छ ।

    आजको खेलमा पोखराले दिएको १३३ रनको सामान्य लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।

    विराटनगरका लागि बसिर अहमदले ३७, लोकेश बमले ३३ र इमरान शेखले १० रनको योगदान दिए । अविजित रहेका इसुरु उडानाले २५ र शेहान जयसूर्याले १७ रन बनाए ।

    बलिङतर्फ पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले दुई–दुई तथा विपीन खत्री र धनञ्जय लक्षणले एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको थियो ।

    ओपनिङ ब्याटर युवराज सम्राले उत्कृष्ट पारी खेलेर ४७ बलमा ८४ रन बनाए पनि पोखरालाई हारबाट जोगाउन सकेनन् ।

    पोखराको लागि धनञ्जय लक्षणले २२ र सनी बिकेले १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले चार ओभरमा २७ रन दिएर सर्वाधिक ६ विकेट लिए । जसमा ह्याट्रिक समेत समावेश छ ।

    त्यस्तै एन्जेलो म्याथ्युज, चरिथ असलङ्का र रुपेश सिंहले एक–एक विकेट लिए ।

    यो जितपछि विराटनगरको प्लेअफ सम्भावना भने जीवितै रहेको छ । उसले ६ खेल खेल्दा तीनमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

    आजै साँझ ५ः०० बजेदेखि कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images