काठमाडौं– नेपालीहरूको महान दोस्रो पर्व तिहार सकिएसँगै मिथिलाञ्चलसहित तराई–मधेसका विभिन्न क्षेत्रमा सूर्यदेव र षष्ठीदेवीको आराधना गरिने अर्को महान् पर्व छठ आजदेखि सुरू भएको छ ।
कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि चार दिनसम्म मनाइने छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । पर्वको तयारीमा स्थानीयवासी जुटेसँगै मिथिलाको वातावरण छठमय बनेको छ ।
धार्मिक आस्था, निष्ठा, पवित्रता र भक्तिको अनुपम सङ्गम मानिने छठ पर्व सूर्यदेवप्रति कृतज्ञता प्रकट गर्ने विशेष अवसरका रूपमा मनाइन्छ । प्रकृतिको प्रत्यक्ष देवताका रूपमा पुजिने सूर्यबाट समस्त प्राणीले जीवन, ऊर्जा र प्रकाश प्राप्त गर्ने धार्मिक विश्वासका आधारमा यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य अर्पण गर्ने परम्परा छ ।
सूर्यदेवसँगै षष्ठीदेवी अर्थात् छठीमाताको पूजा आराधना गरी परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तानको दीर्घायु र समृद्धिको कामना गरिन्छ ।
छठको महत्व
छठको धार्मिक तथा ऐतिहासिक महत्त्व प्राचीन सूर्योपासनासँग जोडिएको मानिन्छ । वैदिक परम्परामा सूर्यलाई जीवन र ऊर्जाको स्रोतका रूपमा आराधना गरिँदै आएको छ । हिन्दु धार्मिक मान्यताअनुसार सूर्यदेवको उपासनाले आरोग्य, तेज, समृद्धि र कल्याण प्राप्त हुने विश्वास छ । छठ पर्वमा प्रकृतिले उपलब्ध गराएका फलफूल, कृषि उपज र जललाई पूजामा समावेश गरिनुले मानिस र प्रकृतिबीचको गहिरो सम्बन्धलाई समेत उजागर गर्छ ।
छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका पारम्परिक गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र छठीमाताको महिमा गाइने भक्तिगीतले गाउँबस्तीमा धार्मिक उल्लास थपेको छ । पर्वका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवाहरू छठघाट निर्माण, सजावट र व्यवस्थापनमा सक्रिय देखिएका छन् ।
बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ ।
मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री खरिद गर्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् ।
यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो ।
छठ पर्वले धार्मिक महत्त्वसँगै स्थानीय अर्थतन्त्र र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ । बाँसका सामग्री बनाउने कारीगर, माटाका भाँडा तयार गर्ने कुमाल समुदाय, किसान, फलफूल व्यापारी तथा साना व्यवसायीका लागि छठ आम्दानीको महत्त्वपूर्ण अवसरसमेत बन्ने गरेको छ । स्थानीय उत्पादन र हस्तकलाका सामग्रीलाई प्राथमिकता दिने परम्पराले पुस्तौँदेखि चल्दै आएका पेसा र सीपलाई निरन्तरता दिन सहयोग पुर्याएको छ ।
छठपर्वका व्रतालुले आज ‘नहाय–खाय’ विधि गर्दै
श्रद्धा र निष्ठाको महान पर्व छठअन्तर्गत आज व्रतालुहरूले ’नहाय–खाय’ विधि गर्दैछन् । बिहानै नदी, ताल, तलैया वा जलाशयमा गई स्नान गरिने यस विधिलाई स्थानीय भाषामा ’नहाय–खाय’ भनिन्छ ।
छठ पर्वको दोस्रो दिन आज व्रतालुहरूले अनिवार्य रूपमा यो विधि अपनाउने गर्दछन् । पर्वको दोस्रो दिन भोलि शनिबार ’खर्ना’ मनाइन्छ । खर्नाका दिन व्रतीहरू दिनभर उपवास बसी राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्छन् र राति ’अरवा–अरबाइन’ (नुन नहालेको) खानेकुरा खाने चलन छ ।
त्यस्तै, षष्ठी तिथिका दिन मुख्य पूजा गरिन्छ। यस वर्ष आइतबार साँझ अस्ताउँदो सूर्यलाई पायक पर्ने जलाशयमा गई अघ्र्य दिइनेछ । घरघरमा गहुँ र चामलको पिठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरियाजस्ता पकवानका साथै विभिन्न किसिमका फलफूल, मुला, गाजर, भोगटे, ज्यामिर, नरिवल, सुन्तला र केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती तथा ठूलो ढाक्कीमा राखेर अघ्र्य दिने चलन छ। मुख्य पूजाका अवसरमा परिवारका सम्पूर्ण सदस्य भक्तिभावका साथ लोकगीत गाउँदै निर्धारित जलाशय वा नदी नजिकै निर्माण गरिएको छठ घाटसम्म पुग्ने गर्दछन् ।
त्यसैगरी, पर्वअन्तर्गत सोमबार बिहान पुन: छठघाटमा पुगी अघिल्लो दिनको क्रम दोहोर्याउँदै उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व सम्पन्न गर्ने रीति छ ।
व्रतालुहरू रातभर व्रतस्थल (घाट) मा जागरण बसी भोलिपल्ट सप्तमी तिथिका दिन एकाबिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो पर्वको समापन हुनेछ । छठ गर्दा हरेक मनोकांक्षा पूरा हुने तथा छालाजन्य रोग कहिल्यै नलाग्ने जनविश्वास रहिआएको छ ।





















