काठमाडौं– भारत सरकारले विदेशी नागरिकका लागि लागू हुँदै आएको भिसा व्यवस्थामा परिवर्तन गरेको छ । सरकारले भिसाका मुख्य श्रेणीको सङ्ख्या १३ बाट घटाएर नौ र उपश्रेणीको सङ्ख्या ४९ बाट घटाएर २३ मा सीमित गरेको छ ।
भारतको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ व्यवस्था सन् २०२६ अगस्ट २७ देखि लागू गरिएको हो ।
मन्त्रालयका अनुसार सबै २३ उपश्रेणीका भिसा आवेदन फाराममा भर्नुपर्ने विवरणको सङ्ख्यासमेत ६५ देखि ७० प्रतिशतसम्म घटाइएको छ । यसबाट भिसा आवेदन प्रक्रिया सहज र छिटो हुने सरकारको विश्वास छ ।
भारत आउने विदेशी पर्यटक, उपचारका लागि आउने बिरामी तथा विद्यार्थीको सङ्ख्या बढाउने उद्देश्यले भिसा प्रणालीमा यस्तो परिवर्तन गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विभिन्न भिसा श्रेणीबीच रहेका दोहोरो व्यवस्था हटाएर प्रणालीलाई थप व्यवस्थित बनाइएको छ । यसले पर्यटक, बिरामी, विद्यार्थी, अनुसन्धानकर्ता, लगानीकर्ता तथा व्यावसायिक पेसाकर्मीलाई आफ्नो भ्रमणको उद्देश्यअनुसार उपयुक्त भिसा छनोट गर्न सहज हुनेछ ।
यसअघि सन् २०२५ अक्टोबरमा पनि भारतले भिसा व्यवस्थामा परिवर्तन गरेको थियो । त्यतिबेला भिसाका मुख्य श्रेणी २२ बाट घटाएर १३ तथा उपश्रेणी ६३ बाट घटाएर ४९ बनाइएको थियो ।
गृह मन्त्रालयका अनुसार भिसा प्रणालीलाई सरल र प्रभावकारी बनाउन विकसित मुलुकका भिसा प्रणाली तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको अध्ययन गरिएको थियो ।





















