काठमाडौं – मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयसँगको छलफलका क्रममा पुल निर्माणको प्रक्रिया तत्काल अघि बढाइने बताए । उनले कोटिला र मुन्दु गाउँका बासिन्दालाई लक्षित गरी स्थानीय सडकको मर्मतसम्भार तथा धार्मिक र पर्यटकीय महत्त्वको ऋणमोक्ष धामसम्म पुग्ने बाटोसमेत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । पुल नहुँदा स्थानीयले भोग्दै आएको आवतजावतको कठिनाइ कम हुनुका साथै धार्मिक तथा पर्यटकीय स्थलसम्म पुग्न पनि सहज हुने विश्वास गरिएको छ ।





















