images
images
  • जलविद्युत्, पर्यटनदेखि तथ्याङ्क केन्द्रसम्म लगानी गर्न युएईका व्यवसायीलाई ढकालको आग्रह

    काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । उनले जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा तथ्याङ्क केन्द्र निर्माणमा लगानीका अवसर रहेको उल्लेख गर्दै युएईका व्यवसायीलाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् ।

    युएईको रास अल खैमाहमा आयोजित ‘आरएके लगानी सम्मेलन’मा सहभागी हुन त्यहाँ पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेट गरेका थिए । भेटमा नेपाल र युएईबीचको सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा उपलब्ध लगानीका सम्भावनाबारे छलफल भएको ढकालको निजी सचिवालयले जनाएको छ ।

    छलफलका क्रममा ढकालले नेपालमा जलविद्युत् उत्पादन, पर्यटन पूर्वाधार, कृषि व्यवसाय, सूचना प्रविधि र तथ्याङ्क केन्द्र निर्माणजस्ता क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको बताएका थिए । उनले यस्ता क्षेत्रमा युएईका लगानीकर्तालाई लगानीका लागि सहकार्य गर्न आग्रह गरेका थिए ।

    ढकालले नेपाल र युएईबीचको हवाई सम्पर्क विस्तारले पर्यटन तथा व्यापार प्रवर्द्धनमा सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरेका थिए। फ्लाई दुबईले युएईबाट पोखरा अन्तरराष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकामा प्रशंसा गर्दै उनले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गर्न अनुरोध गरेका थिए ।

    उनले युएईबाट नेपालका थप गन्तव्यमा हवाई सेवा विस्तार हुन सके पर्यटन आगमन, व्यापारिक गतिविधि र दुई देशबीचको आर्थिक सम्बन्ध थप सुदृढ हुने धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images