images
images
  • नहाय–खायसँगै सुरु भयो छठ पर्व, अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने तयारी

    काठमाडौं – आस्था, श्रद्धा र पवित्रताको पर्व छठको धार्मिक तथा पारम्परिक विधि शुक्रबारदेखि सुरु भएको छ । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले स्नान गरी चोखो भोजन ग्रहण गर्ने ‘नहाय–खाय’ विधि सम्पन्न गरेका छन् ।

    नहाय–खायका दिन व्रतालुहरूले स्नान गरी शरीर र मन शुद्ध पारेर लौकाको तरकारी र भात खाने परम्परा छ । छठमा लौकालाई पवित्र तरकारीका रूपमा लिइने भएकाले यस दिन बजारमा यसको मागसमेत बढ्ने गर्छ। पर्व नसकिएसम्म व्रतालुहरूले माछामासु तथा अन्य तामसिक भोजन त्याग्ने गर्छन् ।

    नहाय–खायपछि शनिबार साँझ ‘खरना’ विधि गरिनेछ । यस अवसरमा व्रतालुहरूले छठी माताको पूजा गरी दूध र गुडमा पकाइएको खिर अर्थात् रस्याउ तथा पुरी प्रसादका रूपमा ग्रहण गर्नेछन् । यसरी तयार पारिएको प्रसाद परिवारका सदस्य, आफन्त र छरछिमेकमा बाँड्ने चलन छ । छठको प्रसादलाई पवित्र मानिने भएकाले निम्तो नपाएका व्यक्तिले समेत व्रतालुसँग मागेर ग्रहण गर्ने परम्परा रहेको छ ।

    वीरगन्जको तेजारथ टोलकी व्रतालु मञ्जु देवीका अनुसार खरना विधिपछि व्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार व्रत बस्नेछन्। आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन उनीहरू परिवारका सदस्यसहित नजिकैका पोखरी, नदी तथा जलाशयमा बनाइएका छठघाट पुग्नेछन् । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र व्रत सम्पन्न हुनेछ ।

    छठका अवसरमा नयाँ वस्त्र धारण गरेका व्रतालुका परिवारका सदस्यले बाँसको छैंटीमा पूजा सामग्री राखेर टाउकोमा बोकी घाटसम्म लैजाने परम्परा छ । विशेषगरी पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्ने गर्छन् । आइतबार साँझ व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत पूजा सामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन् । त्यसपछि घाटमै बसेर रातभर पूजा–अर्चना गर्ने चलन छ ।

    केही व्रतालु भने राति घर फर्केर आँगनमा ‘कोसी भर्ने’ विधि गर्छन् । माटोको हात्ती राखेर गरिने यस पूजाबाट मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यस विधिमा परिवारका सदस्य, आफन्त र छरछिमेकका मानिससमेत सहभागी हुन्छन् । घाटमै बस्ने व्रतालुहरूले भने रातभर भजनकीर्तन गर्दै जाग्राम बस्ने परम्परा छ ।

    प्रसाद बनाउन घरघरमा चटारो

    छठका लागि आवश्यक प्रसाद तयार पार्ने काम पनि व्रतालुका घरमा तीव्र बनेको छ। शनिबार दिनभर गहुँ सुकाउने, पिठो तयार पार्ने र ठेकुवा बनाउने काम हुनेछ। रस्याउ–रोटी र ठेकुवाका लागि आवश्यक गहुँलाई घाममा सुकाउँदा शुद्धताको विशेष ख्याल गरिन्छ।

    गहुँमा चराचुरुङ्गीले जुठो लगाए अपवित्र हुने धार्मिक मान्यता रहेकाले व्रतालु तथा परिवारका सदस्यहरू गहुँ रुङ्गेर बस्ने गर्छन् । चराचुरुङ्गीले जुठो पारेको आशंका भए गहुँ पखालेर पुनः सुकाउने गरिन्छ। प्रसाद तयार पार्दा सरसफाइ र पवित्रतालाई विशेष ध्यान दिइन्छ ।

    छठघाट सिँगारिए, बजारमा बढ्यो चहलपहल

    छठ नजिकिएसँगै वीरगन्ज बजार तथा जिल्लाका ग्रामीण हाटबजारमा पर्वका सामग्री किनमेल गर्नेको भीड बढेको छ । फलफूल, नरिवल, बाँसका सामग्री, पूजा सामग्री र नयाँ लुगा किन्नेहरूको चहलपहल बढेको व्यापारीहरूले बताएका छन् ।

    छठलाई लक्षित गरी वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा र मुर्लीलगायतका घाटलाई आकर्षक रूपमा सिँगारिएको छ। जिल्लाका ग्रामीण भेगका अधिकांश गाउँमा पनि छठघाट तयार पारिएका छन् । घडिअर्वा पोखरीमा गरिएको विद्युतीय सजावटले थप आकर्षण बढाएको छ । साँझपख पोखरीको सजावट हेर्न आउनेहरूको भीड लाग्न थालेको छ भने त्यहाँका आकर्षक दृश्यका तस्बिर सामाजिक सञ्जालमा समेत फैलिएका छन् ।

    घडिअर्वा पोखरीमा छठ पर्वका लागि स्थायी घाटसमेत निर्माण गरिएको छ । देशकै ठूलो र बढी भीडभाड हुने छठघाटमध्ये एक मानिने यहाँ बिहान र बेलुका गरी करिब पाँच लाख मानिसको आवागमन हुने अनुमान गरिएको छ ।

    इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ व्रतले परिवारमा सुख, शान्ति र समृद्धि प्राप्त हुने, सन्तान लाभ हुने तथा चर्मरोगबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । सूर्यको उपासना र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images