काठमाडौं । डिजिटल प्रविधिको विकाससँगै मानिसहरूले दृश्य (भिजुअल) र आवाज (अडियो) सजिलैसँग टाढासम्म आदानप्रदान गर्दै आएका छन् । तर, टाढाको सञ्चारमा हालसम्म गन्ध (सुगन्ध) को पहुँच पुग्न सकेको थिएन, जुन स्थिति अब बदलिने सम्भावना देखिएको छ ।
शोधकर्ताहरूले यस्तो प्रविधि विकसित गरेका छन्, जसमा भएको इलेक्ट्रोनिक नाक (‘इ-नोज’) ले कफीजस्ता निश्चित गन्धहरू पहिचान गर्छ र टाढा रहेको सानो डिभाइसलाई सोहीअनुसारको सुगन्धित अणुहरू (स्केन्ट मोलिक्युल्स) छाड्न निर्देशन दिन्छ । यो डिजिटल सञ्चार एउटै कोठादेखि लिएर संसारको जुनसुकै कुनामा पनि हुन सक्छ ।
शोधकर्ताहरूले डिजिटल स्केन्ट प्रविधिको यस पछिल्लो विकासलाई ‘सेन्ट्रोनिक’ नाम दिएका छन् । अध्ययनका मुख्य लेखक तथा ओहायो स्टेट युनिभर्सिटीका ‘मटेरियल्स साइन्स एन्ड इन्जिनियरिङ’ का पीएचडी विद्यार्थी चुनयु याङका अनुसार सरल भाषामा यसले ‘यहाँ सुँघेको गन्ध’ लाई ‘अन्यत्र पुनःउत्पादन गर्ने’ काम गर्छ । यसको मुख्य उद्देश्य हाल शेयर गरिँदै आएका भिजुअल र अडियो जानकारीमा गन्धलाई जोडेर अनुभवलाई अझ प्रभावकारी बनाउनु हो ।
‘सायन्स एडभान्सेस’ जर्नलमा प्रकाशित यस अध्ययनका अनुसार गन्ध पहिचान गर्ने र त्यसलाई पुनःउत्पादन गर्ने कार्यलाई एउटै कम्प्याक्ट प्लेटफर्ममा जोड्नु नै सेन्ट्रोनिकको मुख्य विशेषता हो ।
यसरी काम गर्छ सेन्ट्रोनिक प्रविधि
यस प्रविधिमा ग्यास सेन्सरको एरे प्रयोग गरेर रासायनिक यौगिकहरू पत्ता लगाउने ‘इ-नोज’ डिभाइस बनाइएको छ । त्यसपछि मेसिन लर्निङ मोडेलले यसअघि तालिम दिइएका गन्धहरू—बियर, केक, कफी, सुन्तला र रेड वाइन—लाई वर्गीकरण गर्छ ।
यो प्रविधिले अनलाइन प्लेटफर्ममार्फत गन्धको जानकारी स्केन्ट जेनेरेटरमा पठाउँछ, जसले प्राप्तकर्ताको छेउमा उस्तै सुगन्ध पुनःउत्पादन गर्छ। तर, गन्धका वास्तविक अणुहरू भने इन्टरनेटबाट नभई डिजिटल सूचनाका रूपमा मात्र प्रसारण हुन्छन् ।
गन्ध पहिचान गर्ने ‘इ-नोज’ डिभाइस करिब ६ इन्च (१५ सेमी) व्यासको र बोक्न मिल्ने (पोर्टेबल) छ, तर शरीरमा पहिरिन भने मिल्दैन । शोधकर्ताहरूले गन्ध छाड्ने जेनेरेटरका लागि रिस्टब्यान्ड (नाडीमा बाँध्ने), नेक्लेस (मालाजस्तो) र हातमा समात्न मिल्ने विभिन्न डिजाइनहरू तयार पारेका छन् ।
हालको अवस्थामा यो इ-नोजले ५ वटा गन्ध मात्र पहिचान गर्न सक्छ । प्रणालीको प्रदर्शनका लागि परिचित र फरक-फरक विशेषता भएका दैनिक गन्धहरू रोजिएको याङले बताएका छन् ।
सिद्धान्ततः गन्धको सूची अझ बढाउन सकिने भए पनि असीमित गन्ध पहिचान र पुनःउत्पादन गर्नु निकै चुनौतीपूर्ण छ । गन्ध पहिचान गर्नु र त्यसलाई दुरुस्त पुनःउत्पादन गर्नु फरक-फरक चुनौती भएकाले दैनिक जीवनका उपयोगी गन्धहरूलाई समेट्नु व्यावहारिक लक्ष्य हुने अध्ययनको निष्कर्ष छ। प्राप्तकर्ता डिभाइसले सेन्ट्रोनिकले सामना गर्ने सबै गन्ध पुनःउत्पादन गर्न सक्दैन । त्यसैले नयाँ गन्धहरू थप्नका लागि इ-नोजलाई तालिम दिनुका साथै जेनेरेटरमा सोही अनुसारको सुगन्धित तरल पदार्थ राख्नुपर्छ ।
यस प्रविधिको प्रयोगबाट टाढा रहेका परिवार वा साथीभाइसँग खानाको सुगन्ध शेयर गर्न सकिनेछ । साथै, भर्चुअल र अगमेन्टेड रियालिटी तथा अनलाइन सपिङमा सामान खरिद गर्नुअघि सुगन्ध परीक्षण गर्न यसको प्रयोग हुन सक्ने सम्भावना छ ।
हाल यो कुनै व्यावसायिक कम्पनीको संलग्नताबिना तयार पारिएको एक अनुसन्धान नमुना (रिसर्च प्रोटोटाइप) मात्र हो । यसलाई व्यापारीकरण गर्नका लागि ठूलो र विविधतायुक्त डाटासेट र वास्तविक वातावरणमा गन्ध पहिचान गर्ने क्षमता आवश्यक पर्छ । साथै गन्ध जेनेरेटरको क्षमता विस्तार, यसको गुणस्तर, पुनः भर्न सकिने सुविधा, टिकाउपन, उत्पादन लागत र सुगन्धित बाफको सुरक्षित प्रयोग जस्ता विषयहरूमा थप विकास आवश्यक छ ।
भविष्यमा स्मार्टफोनमै यस्तो प्रविधि जोड्न सकिने भए पनि गन्धका रिजरभोइर, इलेक्ट्रोनिक्स र एटोमाइजरले ठाउँ र तौल ओगट्ने भएकाले फोनभित्रै पूर्ण रूपमा एकीकृत गर्न चुनौतीपूर्ण रहेको शोधकर्ता याङले स्पष्ट पारेका छन् ।






















