एजेन्सी । ग्रीसको संसदले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने नयाँ कानुन पारित गरेको छ । बालबालिका तथा युवाहरूमा सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्न कडा कानुन ल्याउने देशहरूको सूचीमा ग्रीस पनि थपिएको छ ।
संसदमा बिहीबारदेखि सुरु भई शुक्रबारसम्म चलेको तीव्र बहसपछि प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसको सत्तारुढ कन्जर्भेटिभ ‘न्यू डेमोक्रेसी’ पार्टीले आफ्नो बहुमतको प्रयोग गर्दै यो विधेयक पारित गरेको हो। स्थानीय ‘अना’ समाचार एजेन्सीका अनुसार संसदका अन्य कुनै पनि राजनीतिक दलले विधेयकको पक्षमा मतदान गरेनन् ।
प्रमुख विपक्षी सोसलिस्ट ‘पासोक’ पार्टीले १३ वर्षमुनिका लागि पूर्ण प्रतिबन्ध र १३ तथा १४ वर्षका बालबालिकाका लागि अभिभावकीय नियन्त्रणको वैकल्पिक प्रस्ताव राख्दै मतदान प्रक्रियामा भाग लिएन । अन्य वामपन्थी तथा राष्ट्रवादी दलहरूले भने विधेयकको विपक्षमा मतदान गरेका थिए ।
यसअघि गत अप्रिल महिनामा प्रधानमन्त्री मित्सोटाकिसले युवाहरूमाझ लोकप्रिय टिकटक भिडियोमार्फत यस योजनाको घोषणा गर्दै प्रतिबन्धलाई कठिन तर आवश्यक कदमका रूपमा व्याख्या गरेका थिए ।
नयाँ कानुनका प्रावधानहरू
आगामी जनवरी १ देखि लागू हुने यो कानुन अनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले प्रयोगकर्ताको उमेर प्रमाणीकरण अनिवार्य गर्नुपर्नेछ । यदि कम्पनीहरूले यो नियमको पालना गर्न असफल भएमा उनीहरूमाथि कडा जरिवाना तथा कानुनी कारबाही गरिने प्रावधान राखिएको छ ।
गत वर्ष १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने अस्ट्रेलिया विश्वको पहिलो मुलुक बनेको थियो । समाचार एजेन्सी एएफपीको तथ्याङ्क अनुसार हालसम्म २० भन्दा बढी देशहरूले यस्तै प्रकारका कानुनहरू पारित गरिसकेका छन् ।
सामाजिक सञ्जाल प्लेटफर्महरूले बालबालिकालाई स्क्रिनमा अल्झाइराख्न लत बसाल्ने खालका एल्गोरिदम प्रयोग गर्ने र अत्यधिक स्क्रिन टाइमले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने विश्लेषकहरूको भनाइ छ । यद्यपि, अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले यस प्रतिबन्धको विरोध गरेका छन् भने यो नियम कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन होला भन्नेमा संशय व्यक्त गरिएको छ ।






















