काठमाडौं– अमेरिकी धनाढ्य एलन मस्कको बहुराष्ट्रिय कम्पनीले स्टारलिंकले नेपालको बाढी प्रभावित क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
नेपाल र तिब्बत सीमा क्षेत्रको विनाशकारी बाढीप्रति दु:ख व्यक्त गर्दै सो कम्पनीले नेपालमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन आफू तयार रहेको भन्दै नेपाल सरकारको अनुमतिको प्रतिक्षामा रहेको बताएको छ ।
सामाजिक सञ्जाल प्लाटफर्म ‘एक्स’मा एक पोस्ट राख्दै स्टारलिङकले नेपाल सरकार र मानवीय सहायता साझेदारलाई सहयोग गर्न अनुमति पाउनासाथ आवश्यक किट उपलब्ध गराई नि:शुल्क सेवा सञ्चालन गर्ने उल्लेख गरेको छ ।
‘नेपाल–तिब्बत सीमा क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा सञ्चार सेवा पुन:स्थापना तथा उद्धार कार्यमा सहयोग पुर्याउन हामी तत्पर छौँ,’ स्टारलिंकले भनेको छ, ‘स्टारलिंकले त्यस क्षेत्रमा नि:शुल्क स्याटेलाइट इन्टरनेट सेवा उपलब्ध गराउने छ ।’
बाढीका कारण सडक, पुल तथा मोबाइल सञ्चार पूर्वाधारमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क स्थापित गर्न कठिनाइ भइरहेको अवस्थामा स्टारलिंकले नेपाल सरकार तथा मानवीय सहायता क्षेत्रमा कार्यरत संघ–संस्थालाई आवश्यक सहयोग उपलब्ध गराउन तयार रहेको जनाएको हो ।
स्टारलिंकका अनुसार सरकारबाट आवश्यक अनुमति प्राप्त भएपछि प्रभावित क्षेत्रमा आफ्ना स्याटेलाइट इन्टरनेट किटहरू परिचालन गरी नि:शुल्क सेवा उपलब्ध गराउन सकिने छ । यसबाट खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा स्वयंसेवक, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन र प्रभावित परिवारबीच सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
विशेषगरी मोबाइल टावर तथा अन्य सञ्चार पूर्वाधारमा क्षति पुगेका क्षेत्रमा स्याटेलाइटमार्फत इन्टरनेट सेवा सञ्चालन गर्न सकिने भएकाले आपतकालीन अवस्थामा यसको उपयोग महत्वपूर्ण हुने देखिएको छ । उद्धार टोलीलाई आवश्यक समन्वय गर्न, घाइतेको उपचारसम्बन्धी सूचना आदानप्रदान गर्न तथा बेपत्ता व्यक्तिको खोजीमा रहेका परिवारलाई सम्पर्कमा रहन पनि यस्तो सेवा उपयोगी हुन सक्छ ।

स्टारलिंकका अनुसार आवश्यक विद्युत् स्रोत र खुला आकाश उपलब्ध भएको अवस्थामा किट जडान गरी केही मिनेटमै इन्टरनेट सेवा सञ्चालन गर्न सकिन्छ । कम्पनीले आफ्नो प्रविधिले उच्च गतिको तथा न्यून विलम्बता भएको इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको छ ।
प्राकृतिक विपद्का कारण परम्परागत सञ्चार प्रणाली अवरुद्ध भएका बेला वैकल्पिक सञ्चार माध्यमको आवश्यकता बढ्ने भएकाले स्टारलिंकको प्रस्तावले प्रभावित क्षेत्रमा तत्काल सञ्चार सम्पर्क स्थापित गर्न सहयोग पुर्याउन सक्ने देखिन्छ । यद्यपि सेवा सञ्चालनका लागि नेपालमा आवश्यक सरकारी अनुमति तथा समन्वय भने अनिवार्य हुने छ ।
अनुमतिका लागि भू–राजनीतिक जटिलता पनि विद्यमान छ ।






















