काठमाडौं– नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई स्वचालित रूपमा भ्वाइस सन्देश पठाउन सकिने अन्तरक्रियात्मक भ्वाइस प्रतिक्रिया सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षण गर्दै आएको उक्त सेवा अब व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो । यो सेवा संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुने टेलिकमले जनाएको छ ।
यस सेवामार्फत बढीमा एक मिनेटसम्मको व्यावसायिक वा सूचनामूलक भ्वाइस सन्देश एकैपटक धेरै प्रयोगकर्ताको मोबाइल तथा टेलिफोनमा पठाउन सकिनेछ ।
कुनै सूचना, परीक्षाको नतिजा, प्रचारप्रसार तथा प्रवर्द्धनात्मक सामग्री धेरै व्यक्तिसम्म एकैपटक पुर्याउन यो सेवा प्रभावकारी हुने टेलिकमको भनाइ छ ।
सेवा लिन चाहने कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने टेलिफोन नम्बरको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ। निर्धारित प्रक्रिया पूरा गरेपछि सम्बन्धित नम्बरमा स्वचालित रूपमा कल गरी सन्देश पठाइनेछ ।
सेवामार्फत कल प्राप्त गर्दा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बर नै कलर पहिचानका रूपमा देखिनेछ ।
हाल इच्छुक सेवा प्रदायक तथा ग्राहकले दूरसञ्चार कार्यालय सुन्धारामार्फत निर्धारित फाराम भरी यो सेवा लिन सक्ने नेपाल टेलिकमले जनाएको छ ।
टेलिकमले सूचना तथा प्रचारप्रसारलाई प्रभावकारी बनाउन यस्तो सेवाको माग आगामी दिनमा थप बढ्ने विश्वास व्यक्त गरेको छ ।
यस सेवासम्बन्धी थप जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइट तथा सम्बन्धित कार्यालयबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


विश्व खबर 




















