images
images
  • चीनले सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्क बनाउने

    एजेन्सी । चीनले आगामी पाँच वर्षको डिजिटल विकास खाका सार्वजनिक गर्दै सन् २०३० सम्ममा राष्ट्रिय ब्लकचेन नेटवर्कको निर्माण आधारभूत रूपमा पूरा गर्ने र बौद्धिक इन्टरनेट (इन्टेलिजेन्ट इन्टरनेट) को विस्तारलाई तीव्र पार्ने लक्ष्य राखेको छ । चीनको ‘सेन्ट्रल साइबरस्पेस अफेयर्स कमिसन’ द्वारा जारी गरिएको उक्त दस्तावेजमा उपयुक्त समयमा छैटौँ पुस्ताको (६जी) मोबाइल सेवाको व्यावसायिक सुरुवात गर्ने प्रस्तावसमेत गरिएको छ ।

    दस्तावेज अनुसार सन् २०३० सम्ममा सूचना प्रविधि (इन्फोर्मेटाइजेसन) को क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्ने र चिनियाँ आधुनिकिकरणलाई अघि बढाउन डिजिटल प्रविधिको भूमिकालाई अझ बढाउने बृहत् लक्ष्य तय गरिएको छ । यस योजना अन्तर्गत चीनको इन्टरनेट पहुँच दर सन् २०२५ को ८०.१ प्रतिशतबाट बढेर सन् २०३० सम्ममा ८५ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रति १० हजार मानिस बराबर ५जी बेस स्टेसनको सङ्ख्या ३४ बाट बढाएर ५० पुर्‍याउने प्रक्षेपण गरिएको छ ।

    डिजिटल पूर्वाधारका साथै यस योजनाले कम्प्युटेशनल गणित, सञ्चार नेटवर्क र डेटा साइन्समा आधारभूत अनुसन्धानलाई मजबुत बनाउनुका साथै सञ्चालन प्रणाली र सफ्टवेयर विकास टुलचेइनसँग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को गहिरो एकीकरण जस्ता प्रमुख क्षेत्रहरूमा कोर प्रविधिको विकास गर्ने लक्ष्य राखेको छ ।

    एआई प्रविधिको द्रुत विकासलाई ध्यानमा राख्दै विद्यालयका सबै तहहरूमा एआई शिक्षाको विस्तार गर्ने, समाजमा एआई साक्षरता प्रवर्द्धन गर्ने र डिजिटल प्रतिभाका लागि व्यावसायिक शिक्षा प्रणालीलाई तीव्र बनाउने विषयलाई पनि प्राथमिकता दिइएको छ । दूरसञ्चार तथा इन्टरनेट क्षेत्रलाई क्रमशः खुला गर्दै लैजाने नीति समेत योजनामा समावेश छ ।

    चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सन् २०३० सम्ममा देशको सूचना तथा सञ्चार उद्योगको कुल राजस्व करिब ६१५ अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यसका साथै, डिजिटल प्रणालीको सुदृढीकरणका लागि तथ्याङ्क सुरक्षा र व्यक्तिगत विवरणको सुरक्षालाई कडाइका साथ लागू गर्ने कुरामा जोड दिइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images