images
images
  • स्ट्रेट अफ होर्मुज आफ्नो पूर्ण नियन्त्रणमा रहेको इरानको दाबी, बहराइनमा रहेको अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण

    काठमाडौं– इरानले स्ट्रेट अफ होर्मुजमाथि आफ्नो पूर्ण नियन्त्रण कायम रहेको दावी गरेको छ । उसले होर्मुजमाथि नियन्त्रण कायम राख्न र यो मार्ग प्रयोग गर्ने देश तथा कम्पनीहरूलाई आफूसँग समन्वय गर्न बाध्य पार्न त्यहाँ बारुदी सुरुङ बिछ्याएको कुरा बताउँदै आएको छ ।

    होर्मुज जलडमरूमध्यसँग जोडिएका दुई देशहरू इरान र ओमानलाई मात्र यसमाथि नियन्त्रण गर्ने अधिकार छ भन्ने अडान इरानले राख्दै आएको छ । यो अडान निकै विवादास्पद छ र अमेरिकी पक्षले यसलाई कडा रूपमा अस्वीकार गर्दै आएको छ, जुन अहिलेको द्वन्द्वको मुख्य केन्द्रबिन्दु बनेको छ ।

    यसअघि पनि त्यहाँ एउटा घटना भएको थियो, जसमा इरानले डिजेल तस्करी गरिरहेको र जलडमरूमध्यमा रहेको अर्को ट्याङ्करमा तेल सार्ने प्रयास गरिरहेको बताएको एउटा जहाजमा आगलागी भई विस्फोट भएको खबर आएको थियो ।

    इरानले यस्ता घटनाहरूलाई ट्याङ्कर, तिनका मालिक र तिनका पछाडि रहेका देशहरूले होर्मुज जलडमरूमध्यमा इरानले लागू गरेका नियमहरूको पालना नगरेको परिणामका रूपमा व्याख्या गर्ने गरेको छ ।

    यसैबीच इरानको रिभोलुसनरी गार्ड्सले बहराइनस्थित अमेरिकी सैन्य अखडामा ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

    इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार इरानी सशस्त्र बलले बहराइनको रिफा हेलिकप्टर बेसमा रहेको अमेरिकी एयर डिफेन्सको रडारलाई ६ वटा ड्रोनमार्फत निशाना बनाएको हो ।

    आईआरआईबीका अनुसार यो आक्रमण फारसको खाडी र होर्मुज जलडमरूमध्यमा भइरहेका अमेरिकाका गतिविधिहरूको जवाफमा गरिएको हो ।

    उक्त विज्ञप्तिमा यी ड्रोनहरूको सटिक आक्रमणको आवाज बहराइनका विभिन्न क्षेत्रहरूमा सुनिएको दाबी गरिएको छ । केही अरब सञ्चारमाध्यमहरूले पनि बहराइनमा थुप्रै विस्फोटका आवाजहरू सुनिएको खबर दिएका छन् ।

    यसअघि बहराइनको गृह मन्त्रालयले सम्भावित खतरालाई लिएर चेतावनी जारी गरेको थियो । मन्त्रालयले नागरिक र त्यहाँ बसोबास गरिरहेका मानिसहरूलाई शान्ति कायम राख्न र नजिकैको सुरक्षित स्थानमा जान अपिल गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images