images
images
  • गाईपालनबाट आत्मनिर्भर बने महत, दुई युवालाई रोजगारी

    काठमाडौं – सूर्योदय नगरपालिका–८ कजेनीका दिनेश महत व्यावसायिक गाईपालनबाट आत्मनिर्भर बनेको छ । आफ्नै गाउँमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गरेका उनले दुई स्थानीय युवालाई रोजगारीसमेत दिएको छ । चार वर्षअघि ३० लाख रुपैयाँ लगानी गरेर ‘बिएण्डएम कृषि तथा पशुपालन फार्म’ स्थापना गरेका महतको फार्ममा अहिले १० वटा माउ गाई छन् । तीमध्ये पाँचवटा दुहुना छन् भने अन्य पाँचवटा चाँडै ब्याउने अवस्थामा छन् । फार्ममा १४ वटा बाच्छीसमेत हुर्किरहेका छन् ।

    महतले दैनिक ५० देखि ६० लिटर दूध उत्पादन गर्दै आउएको छ । उत्पादित दूध नजिकैको सहकारीमा प्रतिलिटर ५५ देखि ६० रुपैयाँका दरले बिक्री हुन्छ । दूध बिक्रीबाट वार्षिक करिब ११ लाख रुपैयाँ आम्दानी हुने उनले बताए । यद्यपि, लगानी र उत्पादन लागतको तुलनामा दूधको मूल्य कम पाएको उनको गुनासो छ ।

    गाईपालनबाट आफैँ स्वरोजगार बनेका महतले फार्ममा दुई स्थानीय युवालाई रोजगारी दिएको छ । उनीहरूलाई खानबस्नको सुविधासहित मासिक १८ हजार रुपैयाँ तलब उपलब्ध गराउँदै आएको छ । गाईलाई आवश्यक घाँसको व्यवस्थापनका लागि उनले ३० रोपनी जमिनमा सुपर नेपियर, अम्रिसो र अन्य प्रजातिका घाँस खेती गरेको छ । पशुपालनलाई कृषि उत्पादनसँग जोड्ने उद्देश्यले उनले १०० रोपनी जग्गा भाडामा लिएर ४० रोपनीमा व्यावसायिक स्कुस खेती र बाँकी क्षेत्रमा चियाखेतीसमेत गर्दै आएको छ ।

    गाईबाट उत्पादन हुने मल आफ्नै कृषि फार्ममा प्रयोग गर्ने गरेका छ । यसले पशुपालन र खेतीलाई एकअर्काको पूरक बनाउँदै उत्पादन लागत घटाउन सहयोग पुगेको उनको भनाइ छ । गाउँमै बसेर पनि विदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिने सम्भावना देखाउन आफूले व्यावसायिक कृषि तथा पशुपालन रोजेको महत बताउछन् । वैदेशिक रोजगारीलाई मात्रै आम्दानीको विकल्प ठान्ने प्रवृत्ति बदल्न युवालाई स्वदेशमै उद्यम र स्वरोजगारीतर्फ प्रेरित गर्नुपर्ने उनको जोड छ ।

    कृषि र पशुपालनलाई एकीकृत रूपमा अघि बढाउन सके गाउँमै आम्दानी र रोजगारीका अवसर सिर्जना गर्न सकिने महतले आफ्नो धारणा व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images